काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।
शनिबार बिहान खुमलटार पुगेका पार्टीका नेता, कार्यकर्यासँग पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । उहाँले पार्टीबाट मन्त्री बन्ने र बनाउनुपर्ने व्यक्तिहरु धेरै भएकोले विधिवत रुपमा स्थायी कमिटी बैठकबाट टुंग्याउने बताउनुभएको भेटमा सहभागी माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी निर्माणका विषयमा पनि केही बेर धारणा राख्नुभएको थियो । माओवादीमादेशैभरीबाट मन्त्रीका लागि पार्टीभित्रका 'शक्ति केन्द्र'हरु धाउने क्रम चलिरहँदा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा पनि दौडधूप बढेको छ । वाग्मती प्रदेशबाट मन्त्रीका लागि नुवाकोटका हितबहादुर तामाङ मुख्य दाबेदार देखिनु भएको छ । उहाँ कांग्रेसका चल्तापुर्ता नेता रामशरण महतलाई पराजित गरी प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको 'जनयुद्ध' को बेला भारतको पटनामा गिरफ्तार भई माओवादी नेता मोहन वैद्य ‘किरण’ सँगै लामो समय जेलजीवन बिताउनु भएका तामाङ माओवादी पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीका सहइन्चार्जसमेत हुनुहुन्छ । उहाँलाई मन्त्रीमा सिफारिस गर्नका लागि काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका नेताहरुले खुमलटारमा पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरिरहेका छन् । पार्टीभित्र सरल, इमान्दार र कुशल संगठकका रुपमा चिनिनु भएका तामाङसँग यसअघि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अनुभव छ ।
पूर्व कृषिमन्त्री सिन्धुली–२ बाट निर्वाचित स्थायी समिति सदस्य हरिबोल गजुरेल पनि मन्त्रीका दाबेदार देखिनुभएको छ । लामो अवधि मन्त्री बनेका गजुरेल यस अघी ओली नेतृत्वको सरकारमा सहभागि नभएकाले बलियो दाबेदारको रुपमा रहनुभएको छ ।यसैगरी रामेछापका श्यामकुमार श्रेष्ठ पनि मन्त्री बन्ने दौडमा रहनुभएको बुझिएको छ । उहाँ यो भन्दा पहिला राज्यमन्त्री भइसक्नु भएको छ ।
माओवादी केन्द्रको प्रमुख साथ पाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । देउवाले सोही दिन आफूसँगै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र माओवादी केन्द्रबाट पम्फा भुसाल, जनार्दन शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । खाँण गृहमन्त्री, कार्की कानुनमन्त्री, शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री बन्नु भएको छ ।
संविधानतः १ महिनाभित्र संसद्मा विश्वासको मत लिनैपर्ने बाध्यता देउवासामू छ । विश्वासको मत नपाए मध्यावधि निर्वाचन सम्पन्न गराउने दायित्व देउवाकै काँधमा आउनेछ ।
पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारी गरिरहेका देउवालाई पार्टीका संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतलाई मन्त्रिपरिषद्मा चित्त बुझाउनु पर्ने सकस पनि छ ।