नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङको अग्रता कायमै रहेको छ । पाँच दिनदेखि खरानीटारमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई ६५४ मतान्तरले पछि पार्नुभएको हो । हालसम्म तामाङको २० हजार ३९७ र मैनालीले १९ हजार ७४३मत प्राप्त गरेको मतदानस्थलमा खटिनुभएका माओवादी केन्द्रका नेता भूपेन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तादी गाउँपालिकाकाका ५ नम्बर वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब तादीका ६ वडा र ७ वटा वडा रहेको दुप्चेश्वर गाउँपालिकाको मतगणना बाँकी छ।
क्षेत्र नम्बर १ का ७ पालिकामध्ये ककनी, लिखु, सूर्यगढी, पञ्चकन्या, शिवपुरी गाउँपालिकाको मतगणना भइसकेको छ । दुप्चेश्वर माओवादी र कांग्रेसको पकड क्षेत्र मानिन्छ । स्थानीय तह निर्वाचनमा दुप्चेश्वरमा अध्यक्ष/उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।
मंसिर ४ गते मतदान भए पनि नुवाकोट-१ मा ६ गते साँझमात्रै मतगणना सुरु गरिएको थियो । अहिले पनि मतगणना सुस्तरी चलिरहेको भन्दै दल नेता, कार्यकर्ता र सर्वसाधारणले समेत गुनासो गर्न थालेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९, १०:०५:००