नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङले निरन्तर अग्रता लिइरहनुभएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत दुई दिनदेखि जारी मतगणनाको पछिल्लो परिणामअनुसार तामाङले नेकपा एमालेका उम्मेदवार सुशील खड्कालाई झन्डै १५ सयले पछि पार्नुभएको हो । शुक्रबार मध्याह्नसम्मको परिणामअनुसार तामाङले ६ हजार ३४२ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिस्पर्धी खड्काले ४ हजार ८६३ मत ल्याउनुभएको हो । जसमा मतान्तर १ हजार ४७९ रहेको छ ।
शिवपुरी गाउँपालिकाबाट सुरु भएको मत गणना तादी १,२ वडाको सम्पन्न भएको छ । उक्त क्षेत्रमा शनिबार बिहानसम्म अन्तिम परिणाम आउने आँकलन गरिएको छ । क्षेत्र १ को १ मा स्थलको समस्याका कारण ढिलागरी बिहीबारदेखि मतगणना सुरु भएको हो । १ (२) मा भने गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रमेशकुमार महत विजयी बनिसक्नुभएको छ । महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९, १२:२३:००