घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ घलेगाउँमा माघे संक्रान्तिको अवसरमा गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीयको अग्रसरतामा पिपलडाँडामा सदाझैं गोरु जुधाइ मेला तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । यो आठौं संस्करणको गोरु जुधाई मेला भएको कार्यक्रम संयोजक गुरुबहादुर थापाले जानकारी दिनुभयो ।
नुवाकोटमै ख्याति कमाएको ऐतिहासिक गोरु जुधाई मेला पञ्चकन्यामा विगत ८ वर्षअघि नवप्रतिभा युवा समूहले सुरु गरेको थियो । यस वर्षका लागि ११ हल गोरु दर्ता भइसकेको संयोजक थापाले बताउनुभयो । संक्रान्तिको दिन माघ १ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा हुने 'आठौं बृहत् गोरु जुधाइ मेला तथा सांस्कृतिक कार्यक्रम -२०७९' राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि संयोजक थापाले बताउनुभयो ।
गोरु दर्ताका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । शुक्रबारसम्ममा गोरुधनीले दर्ता गराउन समय दिइएको थियो । दर्ताका लागि नवराज पराजुली : ९८८००२५५९२, रमेश पराजुली : ९८४११७७२७८, नमराज विष्ट : ९८६१०२४७३५ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ । संयोजक थापाले कार्यक्रममा उपस्थित भई दिन पञ्चकन्यावासी र अन्य महानुभावहरुलाई निमन्त्रणा गर्नुभएको छ ।
संयोजक थापाका अनुसार यसपटकदेखि पुरस्कार राशि वृद्धि गरिएको छ । जसअनुसार पहिलो पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र र तेस्रो पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९, १९:४६:००