काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्को वेबसाइट शुभारम्भ गरिएको छ । काठमाडौंको बौद्धमा शुक्रबार पत्रकार सम्मेलनमार्फत परिषद्का संस्थापक अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङले तामाङ पात्रो (मञ्जुश्री/चन्द्र पात्रो) सार्वजनिक र परिषद्को www.tamangcouncil.org वेबसाइट शुभारम्भ गर्नुभएको हो । वेबसाइटमा परिषद्को गतिविधि समेटिएको छ ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै संस्थापक तामाङले समुदायको भाषा, संस्कार, संस्कृति, संरक्षण संवर्द्धन गर्न र विश्वका तामाङमाझ एकरुपता ल्याउन सबै लाग्नु पर्ने बताउनुभयो । परिषद् स्थापना गर्दा जे जे एजेन्डा लिइएको थियो ती विषय पूरा नभए पनि संस्थाले निरन्तरता पाउनु ठूलो कुरा भएको उहाँको भनाइ थियो ।

भाषा आयोगका सदस्य अमृत योञ्जन, डा कुन्साङ लामा, जनता समाजवादी पार्टी वाग्मतीका अध्यक्ष जय गोले, समाजशास्त्री डा मुक्तसिंङ लामाले संस्था स्थापना, कार्यसमिति चयनमा जति तामझाम देखिन्छ त्यस अनुसार काम नभइरहेको भन्दै अब एकताबद्ध भएर काम गर्नुपर्नमा जोड दिनुभयो । उहाँहरुले परिषद्को वेबसाइट बहुभाषीय बनाउन सुझाव दिनुभयो ।
परिषद्का महासचिव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले परिषद्को आउँदो अप्रिल २८ देखि ३० तारिखसम्म सम्मेलन हुने जानकारी दिनुभयो । सम्मेलनको स्थान भने एकीन भइसकेको छैन ।
सुझाव व्यक्त गर्नुहुँर्दै अग्रज व्यक्तित्वहरुले विश्वमा रहेका रहेका तामाङहरुको देशैपिच्छ फरक समस्या रहेकोले विश्वका तामाङको समस्या समाधानमा परिषद् लाग्ने धारणा राख्नुभयो । कार्यक्रम समापन गर्नुहुँदै परिषद् स्यायी सदस्य तथा नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले प्रतिबद्धता र योजना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९, ११:४१:००