सिन्धुली । सिन्धुली कमलामाई नगरमा तामाङ ल्होछारको दुई दिन सार्वजनिक बिदा सिन्धुली । सिन्धुली कमलामाई नगरपालिकाले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
प्रमुख प्रशासकीय प्रमुख सूर्यप्रसाद दाहालले बिहीबार सूचना प्रकाशन गर्नुहुँदै पालिकाभित्र मनाइने प्रमुख पर्व सोनाम ल्होछारको उपलक्ष्यमा यही माघ ८ र ९ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।
'कमलामाई नगरपालिका नगर कार्यपालिकाको निर्णयानुसार यस नगरपालिकाभित्र एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होछार पर्वको उपलक्ष्यमा मिति २०७९ माघ ८ र ९ गते कमलामाई नगरपालिका र मातहतका कार्यालयहरु तथा विद्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको व्यहोरा जानकारी गराइन्छ,' सूचनामा उल्लेख छ ।
सोनाम ल्होछार पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८५९ "ह्योयी / तावार ल्हो” (विरालो वर्ष) हो । तामाङहरुले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’को अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ ।
विभिन्न पशुपंक्षीहरुको नामबाट १२ वटा ‘ल्हो’को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोबा/दोवा वा ल्होछार भनिन्छ । यस वर्ष ल्होछारको मुख्य दिन माघ ८ गते सोनाम ल्होछारको अवसरमा केन्द्र सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९, १७:४५:००