काठमाडौं । नेपालमा पछिल्लो राजनीतिको सत्ता समिकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) फुटको संघारबाट गुज्रिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीले पहिलो पटक संसद् विघटन गरेपछि यसलाई प्रतिगमन भन्दै सिंगो जसपा आन्दोलनमा सहभागी भएको थियो । २०७७ फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि जसपाको अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूह ओलीसँग निकट हुनुभयो । सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे विवाद बढ्दै जाँदा चैत्र ५ पछि स्पष्ट रुपमा दुई समूहमा विभाजित भयो र एउटा समूहको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले गर्नुभयो ।
२०७८ जेठ ८ गते दोस्रो पटक संसद् विघटन भएपछि उपेन्द्र समूह कांग्रेस, माओवादीसँगै आन्दोलन गर्न लागे भने महन्थ–राजेन्द्र समूह सरकारसँग वार्तामार्फत मधेसका मुद्दा हल गर्न र बन्दी रिहाई गर्नतिर लाग्यो । अन्ततः अध्यादेशमार्फत नगरिकता विधेयक ल्याउने र केही बन्दी रिहाई तथा मुद्दा फिर्ता गर्न प्रधानमन्त्री ओली सहमत भएपछि महन्थ–राजेन्द्र समूह ओली सरकारमा सहभागी भयो ।
एक पक्षीय रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएर उनकै नेतृत्वमा १० जना मन्त्रीसहित सरकारमा सहभागी भएपछि उपेन्द्र–बाबुराम पक्षले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिं भण्डारी लगायतलाई कारबाही गरी पार्टीबाट निकाली दियो। जवाफमा महन्थ–राजेन्द्र पक्षले पनि उपेन्द्र यादवसहित २० जनालाई हटायो । एक अर्कालाई कारबाही गरी कार्यकारिणी समिति र संसद्मा पनि आफनो पक्षमा बहुमत रहेको दाबीसहित रेकर्ड अध्यावधिक गर्न निर्वाचन आयोगमा पुगेका दुवै पक्षलाई आयोगले विधि प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरिदियो । तर सत्तापक्ष र प्रतिपक्ष भएर एक अर्कालाई निषेधको अवस्थामा पुगेको जसपा मिल्ने अवस्था बनेन र उपेन्द्र–बाबुराम पक्षले आधिकारिकताको दाबीसहित ४ असारमा निर्वाचन आयोगमा निवेदन दियो । यतिबेला आयोगमा आधिकारिता सम्बन्धी मुद्दा फैसलाको प्रक्रियामा रहेको छ । यसक्रममा आइतबार मात्र पहिलो चरणको बहस सकिएको छ भने अर्को बहसका लागि साउन ६ गते बोलाइएको छ ।
आयोगमा बहस चल्दै गर्दा सत्तारोहणको नयाँ खेल सुरु भएको छ । उपेन्द्र–बाबुराम पक्ष सुरुदेखि नै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएको थियो । तर, संसद्मा विश्वासको मत लिने अन्तिम घडीमा महन्थ–राजेन्द्र पक्षले पनि देउवालाई विश्वासको मत दियो । दोस्रो पटक संसद् पुन:स्थापना र देउवा प्रधानमन्त्री नियुक्तिसँगै जसपाको आन्तरिक शक्ति सन्तुलन पनि बदलिएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र–बाबुराम पक्ष बहुमतमा रहे तापनि संसदीय दलमा दुई निलम्बितबाहेक ३२ सांसद रहेका जसपामा दुवैतिर बराबारीमा अवस्था थियो । तर महन्थ–राजेन्द्र पक्ष ओली सरकारमा सहभागी हुने भएपछि उपेन्द्र–बाबुराम पक्षका सांसद उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाज, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ महन्थ–राजेन्द्र पक्षतिर लाग्नुभयो । उहाँहरुमध्ये अरगरिया, श्रीवास्तव र गुरुङ ओली सरकारमा १९ दिन मन्त्रीसमेत बन्नुभयो । जतिबेला संसद्मा महन्थ–राजेन्द्र पक्ष २० र उपेन्द्र–बाबुराम पक्ष १२ जनामा पुगेको थियो । तर अहिले स्थिति ठीक उल्टो भएर उपेन्द्र–बाबुराम पक्षमा २१ र महन्थ–राजेन्द्रसँग ११ सांसद हुन पुगेको छ ।
आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुअघि बसेको उपेन्द्र–बाबुराम पक्षको संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रेणुका गुरुङ सहभागी हुनुभएको थियो ।
यता केन्द्रीय कार्यकारिणी समितिमा एकता गर्दा जेलमा रहेका रेशम चौधरीबाहेक दुवै समूहका २५–२५ जना समेटिएको थियो । एकतापछि विवाद भएर कित्ताकाट हुँदा महेन्द्र यादवसहित पूर्वराजपा पक्षका आठ जनाले कित्ता बदलेपछि अहिले उपेन्द्र–बाबुराम पक्षमा ३२ जना र महन्थ–राजेन्द्र पक्षमा १९ जना रहेका छन् ।
पार्टी र संसदीय दल दुवैमा आफ्नो पक्ष स्पष्ट बहुमत रहेको र महन्थ–राजेन्द्र पक्षको कतै पनि ४० प्रतिशत नपुग्ने उपेन्द्र–बाबुराम पक्षको दाबी छ । यही कारण सांसद तथा र नेता कार्यकर्ताहरु उपेन्द्र–बाबुराम पक्षमा आउन थालेपछि यसलाई रोक्नकै लागि महन्थ–राजेन्द्र पक्षले देउवालाई विश्वासको मत दिएको उपेन्द्र–बाबुराम पक्षका कार्यकारीणी सदस्य गंगानारायण श्रेष्ठ बताउनुहुन्छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने ठाकुर पक्षको कदमले पार्टी एकता र निर्वाचन आयोगको फैसला प्रक्रियामा कुनै असर नगर्ने र पार्टी एक रहने संभावना नरहेको नेता श्रेष्ठको भनाइ रहेको छ ।
ठाकुर-महतो पक्षका सांसदहरु
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ अनिल कुमार झा
४ एकवाल मियाँ
५ उमाशंकर अरगरिया
६ द्वारिकादेवी खत्वेनी
७ लक्ष्मणलाल कर्ण
८ शरतसिंह भण्डारी
९ चन्दा चौधरी
१० बिमल प्रसाद श्रीवास्तव
११ निर्जला राउत
यादव-भट्टराई पक्ष सांसदहरु
१ महिन्द्र राय यादव
२ बाबुराम भट्टराई
३ उपेन्द्र यादव
४ राजेन्द्र प्रसाद श्रेष्ठ
५ रेनुकुमारी यादव
६ अमृता देवी अग्रहरी
७ रामसहाय प्रसाद यादव
८ मोहम्मद ईश्तियाक राई
९ प्रदिप यादव
१० रामवावु कुमार यादव
११ सुरेन्द्र कुमार यादव
१२ डा. सूर्य नारायण यादव 'सुरज'
१३ लीलादेवी सिटौला (गौतम)
१४ प्रमोद साह
१५ रेनुका गुरुङ्ग
१६ रानी मण्डल
१७ नरमाया ढकाल
१८ राज किशोर यादव
२९ रुही नाज
२० चन्द्रकान्त चौधरी
२१ कलुदेवी विश्वकर्मा