न्यूयोर्क । तामाङ सोसाइटी अफ पेन्सलभेनियाको आयोजनामा यही २८ जनवरी २०२३ मा बृहत् ल्होछार कार्यक्रम हुँदै छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८५९ औं ह्योअी/तावार ल्हो (बिरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा वासिङटन २८ जनवरी शनिबार कार्यक्रम हुन लागेको हो । कार्यक्रममा मुख्य आकर्षण सांस्कृतिक भेषभूषा प्रदर्शन, गीत संगीत, नृत्य, मौलिक खानालगायत रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रस्तुतिका लागि गायक सन्जोक योन्जन तामाङ, गायक डा केशव भण्डारी, गायक डिजे कर्मा सहभागी हुनुहुने छ । तामाङ समुदायले बाघ वर्गलाई बिदाइ गर्दै यस वर्ष बिरालो वर्गलाई स्वागत गरेका छन् ।
हरेक वर्षको माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउने गर्छन् । यस वर्ष माघ ८ गते अर्थात जनवरी २२ तारिखमा नेपालसहित विश्वभर रहेका तामाङहरुले भव्य रुपमा भनाएका छन् । नेपालबाहिर रहेका अमेरिकालगायत देशका तामाङ समुदायले भने कामविशेषका कारण ल्होछारको मुख्यदिनबाहेक अनुकूलतामा ल्होछार मनाउने चलन छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १०:२७:००