घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ मा 'पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । मंगलबार घलेभन्ञ्जयाङमा आयोजित कार्यक्रममा पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं माओवादी केन्द्रका नेता तेजबहादुर तामाङले पञ्चकन्या सहकारी उद्घाटन गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी र बजारीकरण गर्ने हेतुले सहकारी संस्था स्थापना गरिएको अध्यक्ष मणिनाथ लामिछानेले बताउनुभयो । उक्त सहकारीको मुख्य कार्यालय घलेभन्ज्याङमा राखिएको छ । सहकारीको अध्यक्षमा मणिनाथ लामिछाने रहनुभएको छ । उहाँ माओवादी केन्द्र पञ्चकन्याका अध्यक्ष समेत हुनुहुन्छ ।
११ सदस्यीय संचालक समिति र ५७ जना संस्थापक सदस्यहरु चयन भइसकेको छ । उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, ३ नम्बर वडाध्यक्ष रामबाबु पराजुली, ४ नम्बर वडा अध्यक्ष सन्च तामाङलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १६:१२:००