काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९, १२:४६:००