ककनी । नुवाकोट जिल्लाको ककनी गाउँपालिका-२ सानोचित्रेमा भव्य रुपमा सोनाम ल्होछार मनाइएको छ । श्री कोन्ज्योसोम सानुचित्रे युवा क्लबको आयोजनामा शनिबार विभिन्न सांस्कृतिक कार्यक्रमसहित ल्होछार कार्यक्रम मनाइएको हो ।
२८५९ औं ह्योअी ल्हो (खरायो/बिरालो वर्ग) को स्वागत गर्दै मनाइएको कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुदमन्त्री, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य, संघीय निर्वाचन नुवाकोट क्षेत्र नं. १ सांसद हितबहादुर तामाङ, विशेष अतिथि नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति तथा वाग्मती प्रदेशसभाका सदस्य रमेशकुमार महत र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ (सज्जन), स्थानीय नेता, कलाकार, सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि र अन्य अतिथि वर्गले शुभकामना मन्तव्यसँगै ककनीको विकासका लागि जुनसुकै क्षेत्रमा सक्दो पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कलाकारहरुले तामाङ सेलो लगायत मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । तामाङ समुदायको नयाँ वर्ष अर्थात् ल्होछारको मुख्य दिन यस वर्ष माघ ८ गते परे पनि ककनीमा शनिबार मनाइएको हो । तामाङहरुले मञ्जुश्री पात्रो अनुसार हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन ल्होछार मनाउने चलन छ ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९, २३:०३:००