नुवाकोट । नुवाकोट शिवपुरी गाउँपालिकामा आउँदो शनिबार (माघ २१) गते २८५९ औं सोनाम ल्होछार शुकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम हुँदै छ।
नेपाल तामाङ घेदुङ शिवपुरीको आयोजनामा गाउँपालिकाको केन्द्र शेराबगरमा ल्होछार कार्यक्रम हुन लागेको हो । बिहान १० बजे सुरु हुने भनिएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङ, विशेष अतिथि वाग्मती प्रदेशसभा सदस्य एवं निवर्तमान उपसभामुख राधिका तामाङ रहनुहुनेछ ।
कार्यक्रममा राष्ट्रियस्तर तथा स्थानीय स्तरका तामाङ कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा तामाङ घेदुङ शिवपुरीका अध्यक्ष रुपचन तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । कार्यक्रममा कलाकारहरु शुभ तामाङ, पूजा योन्जन तामाङ, अन्जु लामा थोकरलगायले प्रस्तुति दिनुहुने छ भने तामाङको ऐतिहासिक धरोहर लामा, बोन्पोको झाँकी प्रदर्शेन समेत हुनेछ ।
कार्यक्रमको प्रायोजक शिवपुरी गाउँपालिका नुवाकोट रहेको छ । अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले घेदुङको कार्यक्रमका लागि कार्यपालिकाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी गराउनुभएको छ ।
यस वर्ष ल्होछारको मुख्यदिन माघ ८ गते परेको थियो । तर तामाङ घेदुङ शिवपुरीले आफ्नो अनुकूलतामा शनिबार ल्होछार मनाउन लागेको हो । तामाङ घेदुङको यो ल्होछार कार्यक्रम पहिलो हो । अध्यक्ष तामाङ कार्यक्रममा २ देखि ३ लाख रुपैयाँमा खर्च लाग्ने अनुमान रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले बजेट नदिए पनि साथीभाइसँग उठाएर भए पनि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, ०८:०६:००