काठमाडौं । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार आठ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १२:४१:००