यमनाथ भट्ट
हामी गाडीको छतमा चढेर आएको । किस्पाङ गाउँपालिका मनकामनाको भूमेस्थान कार्कीडाँडामा आइपुग्दा ड्राइभरले बसको ब्रेक फेल भयो भनेपछि पनि लगभग ५० मिटर जति गुड्यो । त्यसो भएपछि छतका मान्छेहरु हाम्फाल्ने, भाग्ने क्रम भयो । अनि त्यो भन्दा पनि ५० मिटर जति तल आएर गाडी भित्तापट्टि ठोक्यो । ५० जना जति यात्रु छतमा थिए, सय जना जति भित्र थियो । छेउपट्टि हालेको भए गाडीमा सवार कोही पनि बाँच्दैन थियो । कुनापट्टि हालेको कारणले गर्दा गाडीभित्र भएकालाई केही पनि भएन, छतमा भएका जति अधिकांश घाइते भए । हाम्फालियो कि, कसैले तान्यो, के भो ? म नालीमा परेछु । मचाहिँ बेहोस भइनँ, छोरो एकछिन बेहोस भयो ।
कुमारी तामाङ
म बर्नटमा बसेको थिएँ । ब्रेक फेल भयो, ढुंगा हाल भनेर ड्राइभरले भनिरहेको थियो । खलासीहरु त्यत्तिकै हेरिराथ्यो । छिटो ढुंगा हाल्न जाउ, छिटो छिटो भनिराको, त्यतिमात्र सुनें मैले, त्यस पछि केही सुनिनँ । त्रिशूली हस्पिटलमा आएर दुइटा सलाइन पानी अनि सुई लागाए पछि मात्र होसमा आएको । गाडीभित्र पनि कति उभेको थियो, ढोकासम्मै झुण्डिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८, २१:०९:००