काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुधबार सय दिन पूरा गरेको छ ।
देउवा असार २९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेको भन्दै आलोचना खेपेका देउवा सरकारले 'हनिमुन' पिरियडमा कोरोना भाइरस संक्रमणविरुद्धको एक करोड ५० लाख खोप व्यवस्थापन, लक्षितमध्ये ३२ दशमलव ६ प्रतिशत नागरिकलाई पूर्ण खोप उपलब्ध, राजस्व संकलनमा उल्लेख्य वृद्धि, चुस्त सुरक्षा व्यवस्थालगायत उपलब्धि हासिल गरेको जनाएको छ ।
यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्योलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुस भएको छ ।
यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ । देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ । एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ ।
प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गर्नुभएको थियो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।
छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ । सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको छ ।
यसैगरी चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन् ।
वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ ।
देउवा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायत पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयले उपलब्ध गराएको सरकारका १०० दिनको उपलब्धि