काठमाडौं । नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारले प्रोस्टेट रोगपीडित सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५, ओख्रे निवासी वर्ष ६७ का सूर्यप्रसाद उप्रेतीको उपचारका लागि साढे ८४ हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाल तामाङ घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा आइतबार संक्षिप्त कार्यक्रमबीच संघीय अध्यक्ष मोहन गोले तामाङले बिरामीका कान्छा छोरा बद्री उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो । तामाङ घेदुङ जातीय संस्था भए पनि दु:ख पीडामा गैर तामाङ जातिकालाई समेत सहयोग गर्ने गरेको अध्यक्ष गोलेले बताउनुभयो । 'हामी पीडामा, वेदनामा, बेथामा, दु:खमा तामाङलाई मात्रै सहयोग गर्दैनौं । गैरतामाङ समुदायलाई पनि सहयोग गर्दै आएका छौं । यो कुरा यहाँहरुलाई अनुरोध गर्न चाहन्छु,' अध्यक्ष तामाङले भन्नुभयो । अध्यक्ष गोलेले पीडित उप्रेतीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।
सहयोग रकम तामाङ घेदुङ कतारको संस्थागत, व्यक्तिगत पहल गरी संकलन गरिएको अध्यक्ष इन्द्र तामाङले प्रस्ट्याउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कोषाध्यक्ष रुपबहादुर योञ्जन, नेपाल तामाङ घेदुङ प्रवास शाखा कतार अध्यक्ष इन्द्र तामाङ, विशेष सल्लाहकार ज्ञानमान थिङलगायत सहभागी हुनुहुन्थ्यो । उप्रेतीको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको आर्थिक अवस्था कमजोर भएकोले विभिन्न ठाउँमा उपचारका लागि सहयोगको आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, ११:०५:००