काठमाडौं । पछिल्लो चरणमा उथलपुथलपूर्ण राजनीतिक घटनाक्रम र शीर्ष नेताहरूबीच आपसी टकरावले २०७४ को चुनावपूर्वको वाम गठबन्धन तहसनहस भए पनि त्यसमा आबद्ध नेताहरूले फेरि वाम ध्रुवीकरणको चर्चा गर्न थालेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताबीच ओलीबाहेकको वाम ध्रुवीकरणका विषयमा छलफल हुन थालेको हो । पछिल्लो चरणमा केही महिना अघिमात्रै प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्दले शीर्ष नेताहरुको भेट र त्यसमा भएको छलफलको जनाउले वाम ध्रुविकरण दलहरुले चाहेको सन्दर्भलाई झनै बलियो पारिदिएको छ ।
गत बिहीबार कोटेश्वरस्थित एमाले नेता नेपाल निवासमा भएको भेटवार्तामा 'प्रचण्ड', चन्द, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरूबीच तत्कालीन र दीर्घकालीन सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । कोटेश्वरमा चन्दले पहिला नेपालसँग र पछि दाहालसहित छलफल गर्नु भएको थियो ।
माओवादी युद्धकालका नेता र सहयोद्धा प्रचण्डलाई भेटेपछि चन्दले एमाले नेता माधवकुमार नेपाललाई भेट्नु भएको हो । त्यत्तिमात्रै होइन, उहाँले तत्कालीन युद्धमा सामेल हाल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई, तत्कालीन एकीकृत माओवादीबाट छुट्टिएर नेकपा (क्रान्तिकारी माओवादी) पार्टी खोलेका मोहन वैध 'किरण'लाई पनि भेट्नु भयो ।
झन्डै दुई तिहाईको कम्युनिस्ट पार्टीको नेता र बहुमतसहित प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई पटक जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरी निरंकुशता लाद्न खोजेको, अलोकतान्त्रिक र असंवैधानिक कदम चालेर मुलुकमा विधिको शासनमाथि 'क्षेप्यास्त्र' प्रहार गरेको भन्दै ओलीइतरका वाम शक्ति र लोकतान्त्रिक शक्तिसमेत गठबन्धनमा देखिएका छन् ।
ओलीको जिद्दी र निरंकुश शैली भन्दै अन्य दलमात्रै रुष्ट छैनन् स्वयम् उहाँकै दल एमालेमा लामो समय नेतृत्व सम्हालेका वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल कित्ताले पनि अन्तरसंघर्षमा चलाइरहेको छ । पार्टीको अन्तरविरोधका कारण नेपाल-खनालले पक्षले विपक्षी कांग्रेस, माओवादी, जसपाको गठबन्धनलाई साथ दिँदै आएको छ । असार २८ गते विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि प्रतिनिधिसभा पुन:स्थापित भएको छ भने सर्वोच्चकै परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गर्नु भएको छ । देउवालाई गठबन्धनका दलले मात्रै मत दिएनन् एमाले ओलीकै कित्तामा उभिँदै आएका सांसदहरुले पनि मतदान गरे ।
संविधानको प्रतिकूल र स्वेच्छाचारी ढंगले ओली चलेपछि मुलुकमा बहुमत प्रतिपक्ष र अल्पमत सत्ता पक्ष बनेको राजनीतिक स्थिति देखिएको छ । संसद्, सरकारलाई पूर्ण कार्यकाल सञ्चालन गर्ने र त्यसपछि ओलीइतरका चुनावी गठबन्धन बनाउने रणनीतिमा छन् अहिलेका सत्तारुढ दलहरु ।
एमाले नेपाल पक्षका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरी भन्नु हुन्छ, 'अब हाम्रो योजना ओलीलाई छोड्ने र नेपालमा भएका सबै खालका कम्युनिस्टहरुबीच एकता गर्ने । उपेन्द्र यादवसमेतलाई पार्टी एकतामा सामेल गराउने र मुलुकमा लार्जेस्ट पार्टीका रुपमा स्थापित गर्ने । कम्युनिस्ट पार्टीलाई बचाइराख्ने । ठूलो वा सिनियर पार्टी बनायौं भने त कम्युनिस्टहरु जोगिने भयो. त्यो ठाउँबाट पनि हामीले सोच्दै छौं ।'
नेता चौधरीका अनुसार वाम ध्रुविकरणका लागि मोहन विक्रम सिंहको मसाल र गोपाल किराती नेतृत्वको माओवादी केन्द्रसँग पनि छलफलको तयारी छ ।
गएको आमनिर्वाचनमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले २०७५ जेठ २ मा पार्टी एकता गरेका थिए । अहिले माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जनमोर्चा कांग्रेससहितको गठबन्धनमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कायमै राखेर वैकल्पिक मार्गचित्रका रूपमा वामपन्थी शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिँदै आउनुभएको छ ।
पूर्वमाओवादीबीच सम्भव भए एकता नभए कार्यगत एकता र पछि अन्य कम्युनिस्ट पार्टी र एजेन्डा मिल्ने शक्तिसँग गठबन्धन बनाएर चुनावी सहकार्य गर्ने उहाँको रणनीति छ ।
एमालेमा अध्यक्ष ओलीसँग अन्तरसंघर्ष चलाइरहेका वरिष्ठ नेता नेपालले पनि बृहत् कम्युनिस्ट एकताको अवधारणा अघि सार्दै आउनु भएको छ । उहाँ आफूले भिन्नै पार्टी बनाउनेबारे अहिलेसम्म स्पष्ट गर्नुभएको छैन । नेपालनिकट केही नेताले अलग्गै पार्टी बनाउन सुझाएका छन् ।
ओलीले एमालेमा नेपाललाई कुनै ठाउँ नरहेको बताएर सम्भावित फुटलाई संकेत गरिसक्नु भएको छ । सर्वोच्च अदालतको आदेशले गत फागुन २३ मा तत्कालीन नेकपा एकतापूर्वको अवस्थामा पुगेर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेपालले लिखित र मौखिक सबैजसो अभिव्यक्तिमा बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै आउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नुपर्ने दायित्व आफ्नो काँधमा आएको दाबीसमेत गर्दै आउनुभएको छ ।
नेता नेपालको भनाइलाई बल पुग्ने गरी उहाँकै विचार समूहका नेता चौधरी भन्नुहुन्छ, 'यदि ओलीले करेक्सन हुने भए भने हामी फेरि पनि एमालेमा रहने । त्यसपछि एमालेलाई ठूलो पार्टी बनाउने र कम्युनिस्ट एकताका लागि प्रक्रिया अगाडि बनाउने हाम्रो रोडम्याप हो ।'
कम्युनिस्ट आन्दोलनको भविष्यको रक्षा गर्नु नै आजको तात्कालिक कार्यभार रहेको खनाल–नेपाल समूहका नेताहरूको भनाइ छ । यसका लागि नेपालले ‘संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरूसँग सहकार्य’ गर्ने नीति पनि लिएका छन् । माओवादीका नेताहरूले एमालेमा गएका पूर्वसहकर्मी घर फर्कन तयार भए संवाद गर्ने पक्षमा छन् । तर ओलीले खनाल–नेपाल समूह अलग हुने सम्भावित परिदृश्यलाई ध्यान दिँदै पूर्वमाओवादी नेताहरूलाई भने आफैंसँग राख्ने योजना बनाएका छन् ।
माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले भने पूर्वमाओवादी नेताहरूसँग अनौपचारिक रूपमा कुराकानी भइरहेको बताउनुभयो । ‘हिजो एउटा सन्दर्भमा उहाँहरू जानुभयो । अहिले उहाँहरूलाई त्यहाँ अप्ठ्यारो परिरहेको छ । अहिले हामीले लाज मान्नुपर्दैन । विचार मिल्नेहरू एक ठाउँ बस्ने हो । अब पुनर्विचार गर्न सक्नुहुन्छ भनेका छौं,’ उहाँले भन्नु भयो ।
जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठ पनि आफूहरु तत्कालका लागि बृहत् मोर्चाको पक्षमा रहेको बताउनुहुन्छ । 'हतारमा पार्टी एकता गर्दा पछि मनमुटाब हुन्छ । तर, दीर्घकालीन मोर्चाबन्दी गरेर एक/दुई चुनाव लडेर जाँदा दीगो हुन्छ भन्नेमा हामी छौं । जसका लागि छलफल सुरु भइसकेको छ,' उहाँले थप्नुभयो, 'पूर्वमाओवादी वा कम्युनिस्टमात्रै ध्रुविकरण होइन, हामी समाजवादी धारमा रहेकासमेत मोर्चाबन्दीको तयारीमा लाग्नुपर्छ ।'