काठमाडौं । चक्रपथ सडकको दोस्रो खण्डको डिजाइन शुरु हुन लागेको छ । चक्रपथको कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको डिजाइन शुरु हुन लागेको हो । यसअघि कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्डको विस्तार गरिएको थियो । दोस्रो चरणमा चक्रपथ विस्तारका लागि चीन सरकारले लगानी गर्नेछ । यसमा नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ ।
दोस्रो चरणको काम अन्तरगत स्वयम्भू क्षेत्रमा उत्पन्न स्तुप सार्ने वा नसार्ने भन्ने विवादलाई वैकल्पिक डिजाइनका क्रममा उपायद्वारा सल्टाउने गरी चिनियाँ पक्षसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समझदारी गरिसकेको छ । समझदारीअनुसार स्वयम्भूमा सडकको चौंडाइ सानो बनाउन ‘ग्रिन बेल्ट’को आकार घटाएर डिजाइन हुनेछ ।
चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । त्यसपछि नेपाल सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । तर, साइट क्लियरेन्समा ढिलाइ भएपछि काम अघि बढाउन चीनले आनाकानी गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, १२:३५:००