मकवानपुर । वाग्मती प्रदेशसभा बैठक तीन बजेका लागि सरिएको छ । दलीय समझदारीमा बिहीबार १ बजेका लागि डाकिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिनुभयो । आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सत्ता लम्ब्याउन बुधबार प्रदेश सभा बैठक सार्न एमालेले आग्रह गरेको थियो । तर, विपक्षी गठबन्धनका दलहरु माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टीले नमानेपछि बैठक बस्न लागेको हो ।
बैठकमा सत्तारुढ एमाले सहभागी हुनेछ । एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको बैठकमा सांसदहरु उपस्थित हुन नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएको थियो । तर मन्त्रीहरुको दबाबपश्चात् मुख्यमन्त्री शाक्य प्रदेशसभाको बैठकमा सहभागी हुन राजी हुनुभएको हो ।
अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले बिहीबारको बैठकबाट विश्वासको मत लिने प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गर्नुभएको थियो । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो । एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको थियो ।
बिहीबारको बैठकमा सार्न एमालेले सभामुखलाई आधिकारिक पत्र पठाएको थियो । तर, विपक्षीको निरन्तर दबाबपश्चात् सभामुख सानुकुमार श्रेष्ठ बैठक स्थगित गर्ने निर्णयबाट पछाडि हट्नुभएको थियो ।