गण्डकी । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस ।
मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ । सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक÷खेलकुद मेला भए, कतै औपचारिक समारोह । घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई लिन्छन् । मगर बाहुल्य भएका गण्डकीका कतिपय स्थानीय तहले त सोमबार सार्वजनिक बिदा नै दिए ।
नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, कास्कीले पनि पोखरामा सांस्कृतिक कार्यक्रमसहित दिवस मनायो । मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै निस्केको पदायात्राले सहरका मुख्य क्षेत्र परिक्रमा गरेको थियो । जातीय पहिरनमा सजिएका मगरहरू आफ्नो परम्परा झल्काउने वस्तु र सामग्रीसहित झाँकीमा सहभागी भएका थिए । सेखु ओडेका महिलाहरू, हलोजुवासहित झुल्केका पुरुष । गरगहना र वेषभूषामा सजिएका युवायुवती । नेपाली मौलिक संस्कृतिको झल्को मगर दिवसले दिएको थियो । पहाडे वास्तु झल्काउने परम्परागत नमूना घरले पनि झाँकीमा आकर्षण थपेको थियो ।
कोही पञ्चेबाजामा नाचिरहेका थिए, कोही कौरामा । कतै सोरठी गुञ्जिरहेको थियो, कतै यानीमाया । झाँकी प्रदर्शनीपछि पोखरा–१० मा रहेको मगर सङ्घको सभाकक्षमा दिवसको मूल समारोह केही समय चल्यो । त्यहाँ पनि भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई आयोजकले बढी स्थान दियो । विभिन्न समूहले आ–आफ्नो गीत र नाच देखाए । भित्र दिवसको मूल समारोह चलिरहँदा सभाकक्षबाहिर नाचगान गरेर रमाउनेहरूको सङ्ख्या पनि उत्तिकै थियो । के महिला, के पुरुष । सबै आफ्नो मगर पहिरनमा ठाटिएर दिवस मनाउन पुगेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९, ०८:३६:००