काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १/१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
बैठकले पार्टीको हालैसम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको उहाँले बताउनुभयो ।
एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दु:ख व्यक्त गरेको छ । त्यसैगरी प्राकृतिक विपत्तिपरी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसाग माग गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पक्तिलाई आह्वान समेत गरेको छ ।
अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।