घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ र ४ नम्बरमा पर्ने पर्यटकीय पार्क घ्याङस्वाँरामा निर्मित सहिदका सालिक आउँदो शनिबार अनावरण हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यमा 'सालिक अनावरण तथा सहिद, बेपत्ता परिवार सम्मान कार्यक्रम' राखिएको वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुलीले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । फाल्गुन २० गते बिहानको १० बजे कार्यक्रम तोकिएको छ ।
पञ्चकन्या गाउँपालिकाले 'प्रधानमन्त्री रोजगार कार्यक्रम'अन्तर्गत निर्माणाधीन घ्वाङस्वाँरा पार्कमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा सहादत हुनुहुने पञ्चकन्या गाउँपालिका भित्रका १३ जना सहिदहरुको अर्धकदको सालिक निर्माण गरिएको छ ।
वाग्मती प्रदेश सरकार र पञ्चकन्या गाउँपालिकाको बजेटबाट सालिक निर्माण गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र पञ्चकन्या गाउँपालिकाका संयोजक सरोजकुमार खातीले जानकारी दिनुभयो ।
कार्यक्रममा नुवाकोटका सबै संघीय तथा प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु, सबै पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, स्थानीयलाई निमन्त्रण गरिएको प्रवक्ता पराजुलीले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९, ११:३७:००