काठमाडौं । नेपाल तामाङ घेदुङले प्रदेश १ को नामकरण कोशी प्रदेश गरिनु संघीय राज्य व्यवस्थाको ठाडो बर्खिलाप भएको विरोध जनाएको छ । कार्यवहाक महासचिव जगतमान लामा दोङले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै पहिचान विरोधी शक्तिको सुनियोजित षड्यन्त्रबाट रातको समयमा आम जनताको चाहना तथा विश्व सङ्घीयताको अभ्यासविपरीत कोशी प्रदेश नामकरण गरेकोप्रति नेपाल तामाङ घेदुङ तीव्र असहमतिका साथ घोर भर्त्सनासमेत जनाउनुभएको छ । जननिर्वाचित सांसदहरुको सभाबाट हुकुमी शैलीमा पञ्चायती नाम ब्युँताउँदै संघीय राज्य व्यवस्थाको ठाडो बर्खिलाप गरेको घेदुङको निष्कर्ष छ ।
'जनताबाट निर्वाचित सांसदहरूको प्रदेश सभाबाट यसरी हुकुमी शैलीमा भविष्यमा राष्ट्रिय एकता र विखण्डन निम्त्याउने गरी पञ्चायती नाम ब्युँताउँदै जाने कार्यले मुलुकमा सङ्घीय राज्य व्यवस्थाको ठाडो बर्खिलाप भएको हाम्रो निष्कर्ष रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'यसखालको नामकरण अन्ततः संघीयतालाई खारेज गर्ने षड्यन्त्रको सुरुवात भएको हुँदा यस्ता नामका विरुद्ध हामी अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।'
घेदुङले प्रदेश नं. १ को नामकरणको सम्बन्धमा सम्बन्धित प्रदेशमा बसोबास गर्ने उत्पीडित राष्ट्र (जाति)हरूले लामो समयदेखि ऐतिहासिक सभ्यताको आधारमा इतिहासको सम्मान गर्नका खातिर किरात–लिम्बूवान प्रदेश नाम राखियोस् भनी आवाज उठाउँदै आएकोमा जनताको भावनालाई कुल्चेर कोशी प्रदेश राखिनुले विगतमा परिवर्तनका लागि नेपाली जनताले लडेका सबैखाले जनसङ्घर्षको भावना र मर्ममाथि फेरि एकपटक निर्मम प्रहार भएको समेत जनाएको छ ।
संविधानसभाले निर्दिष्ट गरेको ऐतिहासिक सभ्यता, संस्कृति र भाषा जस्ता आधारहरू पर्याप्त हुँदाहुँदै पनि खोलानालाको नामलाई जोडेर राखिएको कोशी प्रदेश नामाङ्कनप्रति आफ्नो सधैँभरि विमति रहने भन्दै यसविरुद्ध निरन्तर लडिरहन सबै जनसमुदायसमक्ष घेदुङले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, १४:३१:००