नुवाकोट । कार्यालय निरीक्षण तथा योजना अनुगमनका क्रममा वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल शुक्रबार नुवाकोट पुग्नुभएको छ ।
कार्यलय निरीक्षण साथै सडक, भवन र पुलको स्थलगत अनुगमनका निम्ति मन्त्री दुलाल वाकोट जिल्लाको विभिन्न गाउँपालिकामा पुगेको उहाँको सचिवालयले जनाएको छ । त्यसक्रममा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको २० करोड रुपैयाँ लगानीमा निर्माणाधीन बागेश्वरी-उर्लेनी-काल्चे हुँदै मालाभञ्ज्याङको ९ किमि सडकको स्थलगत अनुगमन गर्नुभएको थियो । सूर्यगढी गाउँपालिका-३ फलाटेमा निर्माणाधीन सडक वाल प्राविधिक अनुकूल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी परीक्षण गरेर मात्रै काम अगाडि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।


स्थलगत अनुगमन सकिएलगत्तै आफू मातहतका सम्बन्धित कार्यलय प्रमुख, इन्जिनियर, विभिन्न शाखा प्रमुखलगायत कार्यरत सम्पूर्ण कर्मचारीद्वारा कार्यप्रगति विवरण लिनुका साथै आवश्यक निर्देशनसमेत दिएको सचिवालयले जनाएको छ । मन्त्री दुलालसँगै नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २(१) का प्रत्यक्ष निर्वाचित सांसद रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, भौतिक पूर्वाधार विकास कार्यालय नुवाकोट प्रमुख, सहरी विकास तथा भवन कार्यालय नुवाकोट प्रमुख साथै विभिन्न पार्टीका नेता, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति थियो ।
मन्त्री दुलालले बिहीबार धादिङको मनहरी-आदमघाट जोड्ने १२ किमि पक्की मोटरबाटो अनुगमन गर्नुभएको थियो । गजुरी-६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्लम ढलान प्राविधिक स्टमेट अनुकूल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परीक्षण गर्न निर्देशन दिनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, २२:२२:००