नुवाकोट । राष्ट्रिय सम्मेलन नजिकिएसँगै नेकपा (माओवादी केन्द्र) नुवाकोटमा पार्टी सदस्यता नवीकरणले तीव्रता पाएको जनाइएको छ ।
पछिल्लो अद्यावधिक विवरणअनुसार जिल्लाका १२ स्थानीय तहमा ५ हजार ४२२ संगठित सदस्यको नवीकरण भइसकेको माओवादीले जनाएको छ । पार्टी स्थायी कमिटी बैठकले समयमै नवीकरण लगायतका कार्य नसकिएको भन्दै पछिल्लो पटक कात्तिक २५ सम्मलाई नवीकरणको म्याद दिएको छ । त्यसअघि असोज मसान्तका लागि नवीकरणको समय दिइएको थियो ।
माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाका नेता छिरिङ दोर्जे तामाङका अनुसार शुक्रबार बेलुकीसम्म ५ हजार ४२२ जनाको सदस्यता नवीकरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार सबभन्दा बढी बेलकोटगढी नगरपालिकामा १ हजार १८१ जनाले सदस्यता नवीकरण गरेका छन् भने किस्पाङमा सबभन्दा कम १ सय ९२ मात्रै सदस्यता नवीकरण भएको छ ।
माओवादी केन्द्रको संगठित सदस्य नुवाकोटमा ९ हजार ६५ जना रहेको छ ।
यस्तो छ नवीकरण भएको विवरण
विदुर नगरपालिका : ६५९
बेलकोटगढी नगरपालिका : ११८१
ककनी गाउँपालिका : ५३६
पञ्चकन्या गाउँपालिका : ४९३
शिवपुरी गाउँपालिका : ६३२
लिखु गाउँपालिका : २९४
तादी गाउँपालिका : ३७२
दुप्चेश्वर गाउँपालिका : २३१
सुर्यगढी गाउँपालिका : २५२
मेगङ गाउँपालिका : २९७
किस्पाङ गाउँपालिका : १९२
तारकेश्वर गाउँपालिका : २८३
२० गतेभित्रै नवीकरण अपलोड गर्न वाग्मती प्रदेश कमिटीको निर्देशन
यसैबीच माओवादीकेन्द्र वाग्मती प्रदेश कमिटीले २० गतेभित्रै नवीकरण अपलोड गर्न मातहतका जिल्लाहरुलाई निर्देशन दिएको छ ।
जिल्ला इन्चार्ज र संयोजकसहितको सहभागितामा शुक्रबार भर्चुअलमाध्यमबाट बसेको बैठकले पार्टी केन्द्रले कात्तिक २५ सम्म मिति तोके पनि २० गतेभित्रै नवीकृत तथ्यांक अपलोड गर्न निर्देशन दिने निर्णय गरेको वाग्मती प्रदेश सहइन्चार्ज एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले जानकारी दिनुभयो । यस्तै रामेछाप र दोलखामा निर्वाचन समिति बनाउन बाँकी रहेकाले तत्काल गठन गरेर प्रदेश कार्यालयलाई नाम उपलब्ध गराउन
बैठकले निर्देशन दिएको छ ।
सम्मेलनको संशोधित तालिकाअनुसार माओवादी केन्द्रको टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्ममा हुनुपर्ने छ । पुस १७ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
त्यसअघि असोज ११ को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म, टोल भेला ६ कात्तिकसम्म, वडा सम्मेलन १३ कात्तिकमा र स्थानीय तहको सम्मेलन ४ मंसिरमा गर्ने तय गरिएको थियो ।