काठमाडौं । सिन्धुलीका खुर्कोट-चियाबारी सुरुङमार्ग, मरिण डाइभर्सन र रणनैतिक सडक योजनालाई बजेट व्यवस्थापन गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई मंगलबार बालुवाटरमा भेट्नुहुँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सिन्धुली क्षेत्र न-२का प्रतिनिधिसभा सदस्य राजन दाहालले मागपत्रसहित अनुरोध गर्नुभएको हो । साथै सिन्धुली- चकमके सडकअन्तर्गत बुद्धनगर जिर्घा खण्डमा रुख कटानको प्रक्रिया अगाडि बढाउन सांसद दाहालले अनुरोध गर्नुभएको थियो ।
लगत्तै प्रधानमन्त्री प्रचण्डले तत्काल रुख कटानको प्रक्रिया अगाडि बढाउनको लागि वन मन्त्रालयका सचिवलाई तत्काल फाइल पेस गर्न निर्देशन दिएको सांसद दाहालले ग्लोबल मिडियलाई जानकारी दिनुभयो । त्यस्तै सुरुङमार्ग, अन्य सडक आयोजनाहरुका लागि बजेट व्यवस्थापन गरिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सांसद दाहालले आइतबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेट्दै चियाबारी-खुर्कोट सुरुङमार्गका लागि बजेट माग्नुभएको थियो । जवाफमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखेर अघि बढाइने आश्वासन दिनुभएको थियो । उक्त भेटमा माओवादी केन्द्र सिन्धुलीका सचिव रामजी काफ्ले, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान 'प्रख्यात' लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, ११:४९:००