काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन आउँदो जुन ३ र ४ तारिख (जेठ २०-२१) मा थाइल्यान्डको पर्यटकीय सहर बैंककमा हुने भएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित छलफलमा परिषद् महासचिव मोहन गोले तामाङले ८ मार्च २०२२ मा बसेको सचिवालय बैठकले सम्मेलन जुन ३ र ४ मा गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । 'अन्तर्राष्ट्रिय तामाङ परिषद्को आसन्न ऐतिहासिक पाँचौ सम्मेलन सन् २०२३ जुन ३ र ४ का दिन तामाङ समाजको स्थायी बसोबास भएको राष्ट्रको हैसियतले पूर्वी एशियाअन्तर्गत थाइल्यान्डको पर्यटकीय सहर बैंककमा सम्पन्न गर्ने निर्णय गरेको छ,' महासचिव तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले परिषद्को चौथो सम्मेलनबाट निर्वाचित मौजुदा कार्यसमितिलाई अध्यक्ष के. एम. तितुङको संयोजकत्वमा पाँचौ सम्मेलन मूल आयोजक समितिमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ । सम्मेलन भव्य र सभ्य ढंगबाट सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्यान्ड र तामाङ समाज म्यानमार (बर्मा) लाई दिइएको महासचिव तामाङले जनाउनुभयो ।
पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका अध्यक्षसमेत रहनुभएका महासचिव गोले, सहअध्यक्ष कुमारसिंह घिसिङ, महासचिव काजीमान थिङ तामाङ, उपमहासचिव जगतमान लामा दोङलगायत सहभागी हुनुहुन्थ्यो ।
हेर्नुहोस् निर्णयको पूर्णपाठ

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १०:२८:००