काठमाडौं । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ ।
सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।
अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।
किरियापुत्रीद्वारा मतदान
उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।
पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । उहाँले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, ११:२४:००