काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखेल नगरपालिकास्थित देशकै नमुना सामुदायिक अस्पताल वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले निरीक्षण गर्नुभएको छ ।
२५ वर्षअघि शून्य अवस्थाबाट सुरु गरेको अस्पताल आज देशकै नमुना अस्पताल बनाउन सफल भएको कुरा अस्पतालका संस्थापक डा. रामकण्ठ श्रेष्ठले बताउनुभएको थियो । डा. श्रेष्ठले अस्पतालमा एअर एम्बुलेन्स सेवासमेत चाँडै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताउनुभयो । उहाँले प्रत्येक दिन यस अस्पतालले कम्तीमा १७०० भन्दा बढी बिरामीलाई सेवा दिँदै आइरहेको जानकारी पनि दिनुभयो । डा. श्रेष्ठले यस सामुदायिक अस्पताललाई मेडिकल युनिभर्सिटी बनाउन प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ ।
सरकारको तर्फबाट नीतिगत निर्णय गर्न शीघ्र प्रयत्न गर्ने प्रतिबद्धता मुख्यमन्त्री जम्कट्टेल र मन्त्री श्रेष्ठले गर्नुभएको छ । अस्पताल निरीक्षणमा वाग्मती प्रदेश सदस्य इन्द्र बानियाँ र वाग्मती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री निमा लामा पनि सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १८:५१:००