नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा शनिबार बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
ककनी-२ गणेशस्थानका पन्चनारायण मानन्धरको घरमा बाख्रालाई खोले बनाउने क्रममा आगलागी हुँदा ढुंगामाटोले बनेको डेढ तले घर जलेर पूर्णरुपमा क्षति भएको हो । बिहान करिब सबा ८ बजे सुरु भएको आगो ककनी र रानीपौवामा रहेको प्रहरी टोलीले स्थानीयको सहयोगमा ९:१० बजे पूर्णरुपमा निभाउन सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त घरमा रहेका अन्न, भाँडा वर्तन र लत्तकपडा जल्दा ३ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो ।
यसैबीच अग्निपीडित मानन्धर परिवारलाई ककनी गाउँपालिकाले प्रारम्भिक चरणको राहत उपलब्ध गराएको छ । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जन र उपाध्यक्ष मिठुमाया तामाङबाट तत्काल घटनास्थलको स्थलगत निरीक्षण गर्दै पीडितलाई तत्काल राहत सामग्री वितरण गर्नुभएको हो । पीडितले ओढ्ने, ओछ्याउने, खाद्यान्नलगायत राहत सामग्री पाएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १३:०८:००