काठमाडौं । व्यवसायी मानकुमार तामाङ (पाख्रिन)ले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८, टेकानपुर (योगरखुलुम) मा निर्माण गरिएको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बालाई गलैंचा दान गर्नुभएको छ । यही चैत १७ र १८ गते हुन गइरहेको गुम्बा उद्घाटन समारोहका लागि व्यवसायी तामाङले आफ्नो बाइटिबेटन रग्स्को तर्फबाट बुधबार बौद्ध टुसालमा एक कार्यक्रमबीच ६ थान गलैंचा सहयोग गर्नुभएको हो ।
१ लाख ४७ हजारबराबर रकमको गलैंचा गुम्बाका अध्यक्ष जगतमान लामा (दोङ)लाई हस्तान्तरण गर्नुभयो । गुम्बालाई केही थान कार्पेट सहयोग गर्न पाउँदा बाइटिबेटन रग्स् खुसी भएको भन्दै व्यवसायी तामाङले उद्घाटन कार्यक्रममा सहभागी रिम्पोछे, लामा गुरु र अतिथिलाई बिछ्यादिने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा व्यवसायीका धर्मपत्नी किन्जो डोल्मा लामालगायत सहभागी हुनुहुन्थ्यो । व्यवसायी तामाङ विगत तीन दशकदेखि कार्पेट डिजाइनको क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँले संसारकै उत्कृष्ट कलाकारहरुसँग काम गरिरहनुभएको छ ।
पत्रकारसमेत रहनुभएका गुम्बाका अध्यक्ष दोङले आफूहरुको अनुरोधलाई सहर्ष स्वीकार्नु भइ गलैंचा उपलब्ध गराउनु भएकोमा सहयोगी तामाङ दम्पतीलाई धन्यवाद दिनुभयो । उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा दोङ परिवारकै अगुवाइमा देश-विदेशमा चन्दा संकलन गरी बनाइएको हो । जसको लागत झन्डै डेढ करोड रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, १८:५२:००