काठमाडौं । खानेपानी, सरसफाइ र स्वच्छ्ता (वास)बारे नयाँ पुस्ताको बुझाइ र दिनुपर्ने जानकारीबारे एक कार्यक्रम आयोजना गरिएको छ । पानी दिवसको सन्दर्भ पारेर इन्भाइरोमेन्ट सोलुसन एन्ड रिसर्च सेन्टर इसोर्स, अर्गनाइजेसन अफ वमन साइन्टिस्ट नेपाल र विज्ञान शिक्षक समान नेपालको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
नयाँ पुस्तालाई सुरक्षित पानीको पहुँच तथा किशोरावस्थाका छात्रछात्राका लागि लैङ्गिक समावेशी सरसफाइका सम्बन्धमा जागरुक गर्न कार्यक्रम आयोजना गरिएको आयोजक इसोर्सले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका उपप्रमुख मन्जरी शाक्य बज्राचार्यले संविधानमै स्पष्ट उल्लेख गरिएको खानेपानी, सरसफाइ र स्वच्छता वासको विषयबारे बिद्यालय तहबाटै जानकारी दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, `यो विषय निकै महत्वपूर्ण छ । आउँदो पुस्तालाई पानीको व्यवस्थापन र स्रोत संरक्षणबारे पनि सिकाउनुपर्छ । हाम्रो नगरले यस विषयमा तदारुकताका साथ काम गरिरहेको छ ।' बज्राचार्यले महानगरले २९ वटा वडामा सार्वजनिक शौचालय निर्माण गर्न लागेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि रहेका पूर्वमन्त्री गणेश शाहले स्थानीय तह र बिद्यालय स्तर वासबारे जानकारी दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोलेका विज्ञान शिक्षक संघका अध्यक्ष मनोज आचार्यले अब विद्यालयस्तरमा वासबारे राम्रो जानकारी दिनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गरेकी इसोर्सकी अध्यक्ष पद्मजा प्रधानले वासबारे दीगो विकास लक्ष्यको गोल नम्बर ६ अनुसार काम गर्ने बताउनुभयो । कार्यक्रमअघि काठमाडौं उपत्यकाभित्रका उत्कृष्ट १० विद्यालयका छात्रछात्राहरूबीच जलवायुमा भइरहेको द्रूतगति परिवर्तन र लैङ्गिक समावेशी सरसफाई विषयमा वक्तित्वकला पनि भएको थियो ।
प्रतियोगितामा बौडेश्वरी सेकेण्डरी स्कुल टोखाकी छात्रा प्रथम भएकी थिइन् । यस्तै विश्व निकेतन सेकेणडरी स्कुलका पवन सिलवाल दोस्रो र बुढानीलकण्ठ स्कुलका अशोक बोहरा तेस्रो हुनुभयो । पहिलो दोस्रो र तेस्रो हुनेलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अन्य सहभागीलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न स्कुलहरूका शिक्षक तथा प्राध्यानाध्यापकहरू सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १४:१६:००