विश्वभरका तामाङ समुदायको बृहत्तर हितका निम्ति भन्दै स्थापना गरिएको अन्तर्राष्ट्रिय तामाङ परिषद्ले दुई दशकभन्दा बढी समय ब्यतित गरिसकेको छ । संसारभरका तामाङ संघ/संगठनहरूलाई समन्वय गर्दै ती समुदायको भाषा, लिपि, संस्कृति आदिको संरक्षण, संवर्द्धन तथा साझा सवालमा नीति निर्माण, नेतृत्व विकास र उनीहरूका अधिकारको प्रत्याभूतिको लागि सक्रिय रहने उद्देश्यसहित आजभन्दा २१ वर्षअघि अर्थात् सन् २००२ मा परिषद् गठन गरिएको हो । परिषद्मा नेपाल, भारत, भुटान, थाइल्यान्ड, बर्मामा स्थायी सदस्य संस्थाहरू आबद्ध छन् भने डेढ दर्जनभन्दा बढी मुलुकमा राष्ट्रिय सदस्य संस्थाहरू क्रियाशील छन् । एउटा इतिहास रच्ने चरणमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद् यसबेला पाँचौं सम्मेलनको तयारीमा जुटिरहेको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को गतिविधि, आगामी जेठ २०/२१ अर्थात् जुन ३ र ४ तारिखमा थाइल्यान्डमा निर्धारण गरिएको सम्मेलनबारे परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङसँग ग्लोबल मिडियाका अञ्जु तामाङले गर्नुभएको कुराकानी ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको राजधानी बैंककमा गर्ने घोषणा गरिसक्नुभएको छ, तयारीलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय तामाङ परिषद् स्थापनाकालदेखि नै सम्मेलनहरु तामाङ बसोबास गरिरहेका विभिन्न देशमा गर्दै जाने नीतिगत विषय उल्लेख गरिएको थियो । त्यहीअनुसार नेपाल र भारतमा दुई–दुई पटक सम्मेलन सम्पन्न भइसकेका छन् । नीतिलाई फलो गर्ने हो भने अब हामीले नेपाल र भारतबाहेक तेस्रो देशमा सम्मेलन सम्पन्न गर्नुपर्ने थियो । त्यसकारणले नेपाल र भारतपछि बसोबासको हिसाबले लामो इतिहास बोकेको देश बर्मा थियो । त्यहाँ १० देखि १२ पुस्ता तामाङहरुले बिताइसक्नुभएको छ, र त्यो देशमा सम्मेलन सम्पन्न गर्नुपर्ने थियो । तर अहिले बर्मामा सैनिक शासन छ, यस्ता सभा–सम्मेलन गर्न वञ्चित छ । बर्मामा आजको दिनसम्म बोर्डर सिल छ । हामी आवतजावात गर्न पाउँदैनौं । त्यो हिसाबले हामीले सम्मेलनको विषयमा बर्मासँग छलफल गर्यौं । बर्मा र थाइल्यान्डको साथीहरुको राय के रह्यो भने बर्मापछि तामाङको बसोबासको हिसाबले थाइल्यान्ड हो । बर्मा हुँदै थाइल्यान्ड पुगेको हाम्रो तामाङ आफन्तजनहरुको इतिहासअनुसार चार देखि पाँच पुस्ता बिताइसकेको स्थिति छ ।
बर्माबाट पनि अधिकांश तामाङहरु रोजगारको सिलसिलामा थाइल्यान्डमा रहनुभएको अवस्था छ । त्यसकारणले बर्माको भूगोलभित्र यस्ता सम्मेलनहरु गर्न नदिएको र थाइल्यान्डमा पनि बर्माका तामाङहरु धेरै रहनुभएकोले थाइल्यान्डको बैंककमा सम्मेलन गर्ने भन्ने कुरा विशेषगरी तामाङ समाज बर्मा र तामाङ समाज थाइल्यान्डको राय रह्यो । सदस्य संस्थाहरुको हैसियतले उहाँहरुले हामीलाई त्यो राय दिनुभयो । त्यहीअनुसार उहाँहरु सम्मेलन व्यवस्थापनको निम्ति सक्षम रहेको भन्ने पनि जानकारी पनि दिनुभयो । किनकि पूर्वी एसियाको क्षेत्रीय सम्मेलन पनि हामीले थाइल्यान्डमै गरेका थियौं । एक पटक त्यो सम्मेलन सम्पन्न भइसकेको परिस्थिति रहेको र उहाँहरु आन्तरिक हिसाबले सम्मेलन सम्पन्न गर्न सक्षम रहेको जानकारी प्राप्त भएपछि थाइल्यान्डमा पाँचौं सम्मेलनको निर्णय गरेका हौं ।
थाइल्यान्डमै सम्मेलन आयोजना गर्नुमा अन्य विशेष कारण पनि छन् कि ?
यो विषयमा हामीले स्पष्ट पार्नु नै पर्छ । तामाङ सभ्यताको विकास नेपालको काठमाडौं वरिपरिको भू–भाग जसलाई हामीले ताम्सालिङ भन्छौं, यो भूभागभित्र भयो वा भनौं तामाङ मौलिक भाषा, संस्कार, संस्कृति, सभ्यताहरुको विकास यो क्षेत्रमा भयो । त्यसपछि हामी तामाङ जाति भयौ । इतिहासका विभिन्न कालखण्डमा माईग्रेसन प्रोसेस, राज्यको उत्पीडन, रोजगारलगायत कारणले गर्दा हाम्रो वंशहरु यो क्षेत्रबाट दक्षिणपूर्वी एसियाको विभिन्न देशहरुमा फैलिँदै गए । राज्यको सीमांकन गर्नुभन्दा पूर्व नै हामी ती भू–भागहरुमा फैलिएका थियौं । दार्जिलिङ, सिक्किम, भुटान, बर्मा हुँदै उहाँहरु थाइल्यान्डमा पुग्ने स्थिति राज्यको सीमाङ्कन हुनुभन्दा पहिला नै भएको थियो ।
दार्जिलिङ भारत भएपछि मात्रै हामी त्यहाँ पुगेको होइन । दार्जिलिङ भारतको हुनुभन्दा पहिला नै हामी तामाङहरु त्यहाँ पुगेका थिए । सिक्किम इन्डिया हुनुभन्दा पहिला नै तामाङको त्यहाँ बसोबास थियो । बर्माको कतिपय भू–भागमा राज्यको सीमाङ्कन हुनुभन्दा पहिला नै त्यो क्षेत्रमा फैलिरहेको अवस्था थियो ।
ती देशहरुमा हाम्रो बसोबासको इतिहासको कुरा गर्दा भारतमा ४ देखि ५ सय वर्ष देखिन्छ । बर्मामा करिब २ सय वर्षको देखिन्छ, थाइल्यान्डमा तामाङको बसोबासको स्थिति तीन चार पुस्ताभन्दा बढी देखिन्छ । हामीले थाइल्यान्डमा सम्मेलन गर्दा एक जना ९६ वर्षको म्हेमे हाम्रो आमन्त्रणपछि आउनुभएको थियो । उहाँ १२ वर्षको हुँदा बुबाले लानुभएको रहेछ । त्यो इतिहास हेर्दा थाइल्यान्डमा तामाङहरुको बसोबास चौथो पुस्ता रन गर्दै गरेको रहेको छ ।
यस्तै बर्मा सरकारको तथ्यांकअनुसार ३३ हजार तामाङ बर्मामा स्थायी नागरिकको हैसियतले बसोबास गर्दै आइरहेका छन् । दश पुस्ताभन्दा बढी बितेको इतिहास छ भन्ने विषय त्यहाँको संस्थाहरुले जानकारी गराएका छन् । बर्मा हुँदै उहाँहरु थाइल्यान्ड पुग्नुभयो । थाइल्यान्डमा स्थायी बसोबास गर्नुभयो । थाइ नागरिकको हैसियतले अहिले पनि ४ देखि ५ सय तामाङ थाई नागरिकहरु थाइल्यान्डमा हुनुहुन्छ । उहाँहरुको आफ्नै संस्थाहरु रहेका छन् । निरन्तर आफ्नै संस्थामार्फत विभिन्न गतिविधिहरु गर्दै आइराख्नुभएको छ ।
सम्मेलन बर्मामा गर्नुपर्ने थियो तर त्यहाँको परिस्थिति फरक भएको हुँदा बर्मिज तामाङ समाजसँगको सल्लाह, सुझाव र उहाँहरुको रायलाई सम्बोधन गर्दै बर्मा र थाइल्यान्डले संयुक्त रुपमा आयोजना, व्यवस्थापन गर्नेगरी पाँचौ सम्मेलन थाइल्यान्डमा निर्धारण गरिएको हो । किनकि हामीले जोड्नुपर्ने तामाङहरु वर्षौंदेखि पुस्तौसम्म तामाङको मुख्यभूमि र तामाङको मेनस्ट्रीमबाट डिस्कनेक्टेड हुनुहुन्छ । जस्तो बर्मामा रहनुभएका तामाङहरु अहिले हामीसँग त्यत्ति नजिकबाट कनेक्ट छैन । कनेक्ट गर्दिने परिषद्को काम हो । अहिले भुटानका तामाङहरु राम्रो संगै कनेक्ट छैनन् । सामान्य हिसाबले, आईटीसीमार्फत कनेक्ट गर्ने प्रयास त छ तथापि जुनस्तरमा सम्बन्ध विस्तार हुनुपर्थ्यो त्यो भएको छैन ।
मुख्य भूमि, मुख्य तामाङ आन्दोलन र विभिन्न देशहरुमा रहनु भएका तामाङहरु जोड्ने काम आईटीसीले गर्नुपर्ने हुन्छ । किनकि उहाँहरु दश–पन्ध्र पुस्ता देखि त्यहाँ बस्दै आउनुभएको छ । उहाँहरुलाई तामाङको भूमि र मुख्यगरी तामाङको आन्दोलनसँग जोड्नुपर्ने कामहरु हुन्छ । त्यसकारण बर्मामा नभएपछि थाइल्यान्डमा गर्नुपर्छ भन्ने रायलाई सम्बोधन गरेर पाँचौं सम्मेलनको आयोजना गरिएको हो ।
थाइल्यान्डलाई मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रमात्र हो भनेर बुझ्ने गरिन्छ । तर हामीले हेर्यौं भने थाइल्यान्ड संसारको दोस्रो ठुलो बुद्धिस्ट जनसंख्या भएको देश हो । थाइल्यान्डलाई बुद्धधर्मको देश भनेर पनि चिनिन्छ । करिब ९४ प्रतिशत थाईहरु बुद्धिस्ट हुनुहुन्छ । हामी तामाङ समुदाय पनि बुद्धिस्ट समुदाय नै हो । थाइल्यान्डको डेटा तपाईंले हेर्नुहुन्छ भने मनोरञ्नात्मकभन्दा पनि धार्मिक टुरिजम क्षेत्र धेरै ठूलो छ र विभिन्न देशबाट त्यहाँ धार्मिक भ्रमणको निम्ति जानुहुन्छ ।
सम्मेलन कै बिचमा बुद्धिस्ट कन्ट्री कस्तो हुन्छ भन्ने बारेमा एउटा टुरको पनि आयोजना गरेका छौं । थाइल्यान्डले बुद्धिस्ट देशको हैसियतमा बुद्धधर्म संरक्षण, प्रवर्द्धनको क्रममा के कस्ता कामहरु गरेको रहेछ भन्ने कुराको जानकारी पनि प्राप्त गर्न सकिन्छ । यस्तै म्यान्मारमा पनि त ८८ प्रतिशत बुद्धिस्ट रहेको छ । म्यान्मार जसलाई हामी बर्मा भन्छौं, हाम्रो भाषा पनि भोट बर्मिज परिवारको भाषा हो । बर्मा र थाइल्यान्डसँग तामाङहरु धार्मिक र सांस्कृतिक रुपमा कनेक्टेड पनि छ । बसोबासको हिसाबले स्थायी बसोबास रहेको कुरा मैले जानकारी गराएँ । दसौं पुस्ता बिताइसकेका देशहरु हो भन्ने कुरा पनि स्पष्ट हुन्छ । धेरै र थोरै जनसंख्याभन्दा पनि ऐतिहासिक पृष्ठभूमि के हो भन्ने हामीले बुझ्न जरुरी छ ।
बर्मा र थाइल्यान्डका तामाङको इतिहासको पृष्ठभूमि हेर्दा हामीले त्यहाँ सम्मेलन आयोजना गर्न औचित्यपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय संस्थाहरुको कुरा गर्ने हो भने समान फुटेज अनुसार काम गर्नुपर्ने हुन्छ । देशहरु सबै बराबर हुँदैन । जस्तो, सार्क राष्ट्रको कुरा गर्ने हो भने भारत कति ठूलो देश छ । भुटान, माल्दिभ्स कति सानो छ । तर सार्क सम्मेलन ठूलो देश भएकोले भारतमा मात्रै हुन्छ भन्ने हो भने अन्तर्राष्ट्रिय संस्थाको मूल्य मान्यताअनुसार नचल्ने भयो नि ! देश ठूलो, सानो होला, जनसंख्या धेरै, थोरै पनि होलान् । तर देशको मर्यादाको हिसाबले सम्बोधन गर्ने कुरामा बराबर हुनुपर्छ र बराबर हैसियतमा बुझ्नुपर्छ ।
सम्मेलनमा कहाँबाट को–को सहभागी हुँदैछन् ?
पाँच सय जना प्रतिनिधि आउने अपेक्षा गरेका छौं । अप्रिल ३० सम्म सबै देशहरुले आफ्नो सदस्य संस्थाको नवीकरण गर्नुपर्ने छ । नयाँ सदस्यहरुको लागि आवेदन दिनुपर्ने र त्यो उपर निर्णय गर्नुपर्ने भन्ने निणर्यहरु हामीले गरेका छौं । अहिले सदस्य संख्याको हिसाबले ३० वटा देशमा सदस्यता वितरण गरेका छौं । उहाँहरु अन्तर्राष्ट्रिय परिषद्को विभिन्न सदस्यहरु हुनुहुन्छ । त्यो भन्दा बढ्ने वा घट्ने भन्ने कुरा अप्रिल ३० मा कति आवेदन प्राप्त हुन्छ । कति सदस्यहरुलाई नवीकरण र कतिलाई नयाँ वितरण गर्नुपर्ने कुरा त्यो बेलामा जानकारी हुन्छ । हाम्रो अपेक्षा भनेको ५ सय जना प्रतिनिधिहरु विभिन्न देशबाट आउनुहुनेछ ।
नयाँ या पुराना संस्थाहरुले सम्मेलनमा सहभागी हुन के कस्ता प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्ने छ ?
तामाङहरुको बसोबासलाई सम्बोधन गरेर सदस्यको वर्गीकरण गरेका छौं । राज्यको सीमाङ्कन हुनुपूर्व नै हामी जुन ठाउँमा फैलिएर रहेका थियौं, ती भू–भागहरुमा जुन अहिले छन् । ती देशहरुलाई स्थायी सदस्य बनाइएको छ । स्थायी सदस्यमा नेपाल, भारत, भुटान, बर्मा, थाइल्यान्ड छन् । यस्तै बंगलादेशमा पनि ८ सय जना तामाङहरु छन् भन्ने तथ्यांक छ तर कहाँ हुनुहुन्छ त्यो हाम्रो खोजीको स्थितिमा छ ।
मलेसियामा पनि पुस्तौ देखि स्थायी रुपमा तामाङहरु हुनुहुन्छ भन्ने अनौपचारिक जानकारी छ । मूर्त हिसाबले भन्नका निम्ति खोजीमै छौं । ती देशहरु जहाँ राज्यको सीमाङ्कन हुनुभन्दा पूर्व नै बसोबास गरिराख्नुभएको छ । ती देशका तामाङ संस्थाहरुलाई परिषद्को स्थायी सदस्य भनेका छौं । विभिन्न देशहरुमा विभिन्न कामको सिलसिलामा पछिल्लो समय तामाङहरु पुग्नुभयो । उहाँहरु पुग्नु भएको देशको संविधान र कानुनअनुसार बसोबास, नागरिकता दिने र आफ्नै संस्था दर्ता गरेर संचालनका लागि कानुनी व्यवस्था पनि भएको र त्यहीअनुसार काम गरिरहेको देशहरुलाई राष्ट्रिय सदस्यको रुपमा परिषद्ले वर्गीकरण गरेको छ । जस्तै यूरोप, अमेरिका, अस्ट्रेलियाहरुमा बसोबासको एउटा प्रक्रिया पूरा गरिसकेपछि ती देशको नागरिकता हुँदै स्थायी बासिन्दाको हैसियत प्राप्त गर्ने र उहाँहरुले त्यही हैसियतमा संस्थाहरु दर्ता गरेर संचालन गर्न पाउने देशहरु भएकोले संस्था संचालनमा कानुनी मान्यता पनि प्राप्त गरेको हुँदा राष्ट्रिय सदस्यमा रुपमा वर्गीकरण गरेका छौं ।
हङकङ, जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देशहरुमा त्यो सुविधा छ । त्यहीअनुसार त्यहाँ रहनु भएका तामाङ आफन्तजनहरुले जुन क्रियाकलाप गरिराख्नुभएको छ । हाम्रो पहिचानलाई स्थापित गर्नका लागि अभ्यास गर्ने सन्दर्भमा ती देशहरुलाई राष्ट्रिय सदस्य भनेका छौं । अर्को सदस्यहरु भनेको राष्ट्रियस्तरमा स्थापित गैर आवासीय संस्थाहरु हुन् । ति संस्थाहरुलाई नेपाली दूतावासले रिकनाईज दिनुपर्ने, गैर आवासीय नागरिकको हैसियतले त्यहाँ स्थापित संस्थाहरुलाई सम्बन्धन सदस्य भनेका छौं । चौथो सम्मेलनबाट पारित विधानअनुसारका विषय भए । पाँचौं सम्मेलनमा विधान प्रतिवेदन, नीतिका कुराहरु पनि आउँछन् यो कुरालाई कसरी निर्क्योल गर्छ, त्यसपछि आउने हुन्छ ।
नवीकरणको कुरा पनि स्पष्ट पार्दिनुस् न ?
सदस्य संस्थाहरु नवीकरणको सवालमा परिषद्मा आवेदन दिनुपर्छ । स्थायी राष्ट्र स्पष्ट छँदैछ, राष्ट्रिय संस्थाको सवालमा सम्बन्धित देशमा सम्बन्धित देशको कानुनअनुसार दर्ता भएको संस्था हो भन्ने प्रमाणपत्र पेस गर्नुपर्छ । सम्बन्धन सदस्यहरुको हकमा भने कुनै देशमा रहनुभएको संस्था छ भने त्यो नेपालकै गैर आवासीय संस्था हो । नन् रेजिडेन्डसियल नेप्लीज तामाङहरुको संस्था हो भन्ने कुरा सम्बन्धित देशको संस्था । जस्तो, नेपाल तामाङ घेदुङ भयो वा नेपाल दूतावासमा दर्ता भएको अथवा मान्यता दिएको भन्ने जानकारी हामीलाई दिनुपर्ने हुन्छ ।
विश्वका तामाङ समुदायमा उर्जा भर्ने खालको यो सम्मेलनले केही विषय अघि सार्दै छ कि ?
पहिलो पटक सन् २००२ मा सम्मेलन सम्पन्न गर्यौं । अन्तर्राष्ट्रिय आयमलाई उजागर गर्ने उद्देश्यका साथ सम्मेलन सम्पन्न गरिएको थियो । तथापि त्यो समयमा नेपालमा ग्लोबल कन्टेक्समा ठूलो 'स्पियर' तयार गरिसकेको थिएन । जसले गर्दा हामीले केही संख्यामा मात्रै देशहरुलाई सहभागी गराउन सक्यौं । अहिले यो २० वर्ष पार गर्दाखेरी तामाङहरुको अन्तर्राष्ट्रिय आयाम निकै ठूलो बनेर गयो । ग्लोबलाईजेसनलगायतका कुराले गर्दा एक अर्कामा जोडिने प्रक्रिया पनि सहज बन्दै गयो त्यसपछि अन्तर्राष्ट्रिय तामाङ परिषद्को औचित्य झन् बढ्दै गएको अवस्था हो । सन् २०१८ सम्म आइपुग्दा संख्या निकै बढेर गयो । आबद्धता हुने विषयहरु पनि झन ठूलो हुँदै गयो । त्यसपछि झन् ठूलो जिम्मेवारीको हिसाबले हामीले सोच्नुपर्ने भयो । अर्को विषय हामीले ती सम्मेलनहरुमा नीतिगत विषयहरु पास गर्यौ तर योजनागत विषयहरुमा कार्यान्वयन कसरी गर्ने भन्ने लामो छलफल गरेनौं । यसपटकको सम्मेलनमा योजना कसरी कार्यान्वयन गर्ने विषयमा छलफल गर्दैछौं ।
कतिपय प्राविधिक विषयहरु कठिनाइका रुपमा देखा पर्ने, अन्तर्राष्ट्रिय तामाङ परिषद्ले कसरी काम गर्छ भन्ने विषय स्पष्ट नहुने भएको हुँदा यो विषयमा हामीले धेरै छलफल गर्नेछौं । जसका लागि हामीले ३ महिना पहिला नै विभिन्न समितिहरु बनाएका छौं । उहाँहरुलाई एक महिनाभित्रमा प्रतिवेदन बुझाउन आग्रह गरेका छौं । प्रतिवेदन बुझाउनु भएपछि सम्बन्धित देशहरुमा व्यापक छलफलका निम्ति पठाउने छौं । उहाँहरुले अन्तर्राष्ट्रिय परिषद्को नीति, कार्यक्रम, योजना आदि विषयमा प्राप्त सुझाव समावेश गरेर नीति कार्यक्रम पास गर्छौं । मुख्यत: यो सम्मेलनमा कार्ययोजनाको विषयमा छलफल गर्नेछौं । अगाडि नै हामीले परिषद्को नीतिगत विषयहरुमा व्यापक अभियानको रुपमा छलफलमा लानेछौं ।
विगतका सम्मेलनहरुबाट घोषणा भएका र पारित गरिएका विषयहरु कार्यान्वयन हुन सकेन भन्ने गुनासा आइरहेका छन् नि ? किन काम गर्न सक्नुभएन तपाईंहरुको कार्यसमितिले ?
पहिलो कुरा, अन्तर्राष्ट्रिय तामाङ परिषद्ले कसरी काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को सदस्यहरु सम्बन्धित देशको सदस्य संस्थाहरु हुन्छन् । जस्तो कि नेपालमा नेपाल तामाङ घेदुङ हुन्छ । नेपाल तामाङ घेदुङ अन्तर्राष्ट्रिय तामाङ परिषद्को स्थायी सदस्य हो । स्थायी सदस्यको हैसियतले नेपाल तामाङ घेदुङले नै अन्तर्राष्ट्रिय तामाङ परिषद्को काम नेपालमा गरेको हुन्छ । किनभने घेदुङ नै स्थायी र संस्थापक सदस्य भएको नाताले घेदुङकै मुख्य पहलमै अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरिएको थियो । त्यसकारणले विभिन्न देशहरुमा सम्बन्धित सदस्य संस्थाहरुले गरेको काम नै अन्तर्राष्ट्रिय तामाङ परिषद्को काम हो भन्ने बुझ्नुपर्दछ । किनभने अन्तर्राष्ट्रिय तामाङ परिषद्ले गर्ने काम भनेको विभिन्न देशहरुमा रहेको तामाङलाई जोड्ने काम गर्छौं, एउटै प्लेट फर्ममा ल्याउने काम गर्छौं । साझा मुद्दाहरुको विषयमा साझा धारणा तयार गर्छौं । यसलाई कार्यान्वयन गर्ने स्थितिचाहिँ विभिन्न देशहरुमा सम्बन्धित देशको सदस्य संस्थाहरुले गर्नुपर्ने हुन्छ । ती संस्थाहरुले गरेको काम नै अन्तर्राष्ट्रिय तामाङ परिषद्ले गरेको काम भनेर अहिलेसम्म बुझेका छौं । त्यसकारणले हामीले योजनागत विषयमा सबैभन्दा धेरै पाँचौं सम्मेलनमा छलफल गर्दैछौं ।
संस्कार, संस्कृतिको बारेमा कुरा गर्नुपर्दा जुनसुकै भूगोलमा भए पनि एउटै रहन्छ । एउटै संस्कृतिमा हामी बाँधिएका हुन्छौं । त्यो उपर संस्कार–संस्कृति निर्देशिका तयार गरेका छौं । अब आउने पब्लिकेशन नेपाली, अंग्रेजी र तामयीग लिपि गरी ३ वटा भाषामा प्रकाशित गर्दैछौं । सँगै तामाङको मौलिक क्यालेण्डर निर्माण गर्ने, लिपि विकासको सन्दर्भमा परिषद्ले गरेको भूमिकाहरु आदि कुरा छन् तर योजनागत हिसाबले ठ्याक्कै यो यो काम गर्ने भन्ने विषय नभएकोले सदस्य संस्थाहरुमार्फत नै हामीले नीतिगत विषयहरु अहिलेसम्म लागू गर्दै आइरहेको विषय हो । पृथक् हिसाबले परिषद्ले यो गर्यो भनेर चै देखिँदैन ।
सुनिन्छ, यो पालिको सम्मेलनमा कार्ययोजना र तालिकासमेतको दस्तावेज प्रस्तुत हुँदैछ । त्यसको तयारी मोटामोटी बताइदिनुस् न ?
योजना कार्यान्वयन, कार्यविधि तयार गर्नका निम्ति परिषद्को संस्थापक अध्यक्ष परशुराम तामाङको अध्यक्षतामा समिति गठन गरेका छौं । उहाँले त्यो प्रस्ताव तयार गर्नुहुनेछ र प्रस्ताव छलफलको निम्ति अबको एक महिनाभित्र विभिन्न देशमा पठाउने छौं । सबै देशबाट आएको रायहरुलाई संकलन गरेर अन्तिम प्रस्ताव तयार गर्नेछौं । त्यो अन्तिम प्रस्ताव सम्मेलनमा प्रस्तुत गर्ने छौं र सम्मेलनबाट पास गर्ने छौं । यस्तै विभिन्न विषयगत समितिहरु पनि निर्माण गरेका छौं । डा. मुक्तसिंह तामाङको संयोजकत्वमा समसामयिक प्रस्ताव उपसमिति गठन गरेका छौं । तामाङको विश्वव्यापी समसामयिक विषयहरु के के हुन् त भन्ने विषयमा उहाँको समितिले काम गर्नुका साथै प्रस्ताव तयार गर्नुहुनेछ । तयार भएको प्रस्तावलाई विभिन्न देशमा पठाउनेछौं र त्यो उपर छलफल गरेर प्राप्त रायलाई समावेश गरेर अन्तिम प्रस्ताव तयार गर्नेछौं । त्यो प्रस्ताव सम्मेलनबाट पारित गरेपछि त्यो अन्तिम प्रस्ताव हुनेछ ।
यो सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन गर्नुहुन्छ, विधानतः कति सदस्यीय र कसरी चुन्दै हुनुहुन्छ ?
नयाँ सम्मेलन हुने भएपछि सम्मेलनले पहिलो विधान पास गर्नुपर्छ त्यसपछि कति जनाको कार्यसमिति हुनेछ भन्ने कुराको निर्क्योल हुन्छ । तथापि पहिलेको सम्मेलनमा १५ जनाको कार्यसमिति थियो र सबै पदाधिकारीहरु हो । पहिलो सम्मेलनले अध्यक्षमात्र रहने र उहाँले नै संयोजन गरिएको कार्यसमिति थियो ।
तेस्रोमा उपाध्यक्ष र महासचिव पनि रहने बनाइएको थियो भने चौथोले वरिष्ठ उपाध्यक्ष पनि र सचिवहरु पनि राख्ने कुरालाई विधानत: पास भयो । त्यहीअनुसार संगठन संरचना निर्माण भयो । यस पटक पनि यो विषयमा व्यापक छलफल गर्नेछौं । डा. कुन्साङ योन्जनको संयोजकत्वमा विधान मस्यौदा उपसमिति पनि गठन गरेका छौं । यो विधान सस्यौदा पनि अरु समितिले जस्तै एक महिना भित्रमा तयार गर्नुहुनेछ । मस्यौदाउपर विभिन्न देशमा छलफल गर्न पठाउने छौं । प्राप्त राय सुझावलाई संकलन गरेर सम्मेलनमा विधान मस्यौदा लाने छौं । सो विधानअुनसार कार्यसमिति बन्ने छ । त्यस कारणले यस्तो खालको कार्यसमिति बन्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरुको लागि व्यवस्था के छ ?
अभ्यास गर्दै आएको मोडल के हो भने प्रतिनिधिहरु आफ्नै खर्चमा जानुपर्छ । विभिन्न देश—देशमा सम्मेलन हुँदा परिषद्ले खर्च गरेर लान सक्ने हैसियत पनि छैन । आ—आफ्नो खर्चमा त्यहाँ उपस्थित हुने र प्रतिनिधिहरुलाई सय डलर प्रवेश शुल्क तोकेका छौं । दुई दिनको खाना बस्न र अरु व्यवस्थापनका लागि हामीले सय डलर तोकेका हौं । प्रतिनिधि हुनका लागि सम्बन्धित देशको संस्थाले सिफारिस गरेको हुनुपर्छ ।
सरसर्ती हेर्दा जातीय/समुदायगत संस्थाहरु खडा हुने तर परिणाममुखी काम गरेको नदेखिने परिस्थिति बन्दैछ । अब चुनिने अन्तर्राष्ट्रिय तामाङ परिषद्को कार्यसमितिले काम गर्छ भन्ने कसरी विश्वास दिलाउनुहुन्छ नागरिकहरुलाई ?
हाम्रो तामाङ आफन्तजनहरुले गर्नुभएको संघर्ष, प्राप्त गरेको सिप र अनुभवलाई एकअर्कामा बाँड्ने, एकअर्कामा सम्बन्ध बनाउने सौहाद्धपूर्ण वातावरण निर्माण गर्नेजस्ता पुलको काम गर्ने उद्देश्यले स्थापना गरेको हो । साथै साझा एजेन्डाको विषयमा पनि काम गर्छौं । भाषा, संस्कार, संस्कृतिको सन्दर्भमा पनि काम गर्दै आइरहेका छौं । अहिलेसम्म घोषणापत्र बनाउने र कसरी कार्यान्वन गर्ने भन्ने विषयमा जुनस्तरमा छलफल हुनुपर्थ्यो त्यसो भएन ।
यो सम्मेलनले सबै नीतिगत विषयहरु घोषणापत्रमा राखिएको विषयवस्तुलाई कसरी कार्यन्वयन गर्छौं, कस्तो किसिमको योजना बनाउँछौं भन्ने विषयमा नै ग्याप रहेको हुँदा आउने सम्मेलनमा बढी छलफल गर्छौं भनिएको हो । योजना कसरी कार्यान्वयन गर्छ त भन्ने विषय नै अहिलेको सम्मेलनको मुख्य विषय हो ।