काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टेकोले अडाएर राखिएको नुवाकोटको साततले दरबार तत्काल पुनर्निर्माण गराई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा धारणा राख्नुहुँदै सांसद सुवेदीले भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट दरबार आठ वर्षदेखि अलपत्र रहँदा महत्वपूर्ण धरोहर विलुप्त हुन लागेको र पर्यटन व्यवसायसमेत धरासायी बनेकोले तत्काल पुनर्निर्माण अघि बढाउन सरकार र पुरातत्व विभागको ध्यानाकर्षण गराउनुभएको हो ।
'आठ वर्षसम्म पनि पुनर्निर्माण नहुँदा एकातिर नुवाकोटको पर्यटन व्यवसाय धरासायी भइरहेको छ भने अर्कोतिर हाम्रा महत्वपूर्ण धरोहरहरु विलुप्त हुँदै जाने खतरा पैदा भएको छ । उक्त संरचनाहरु तत्काल पुर्ननिर्माण गर्नुका साथै नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन सभामुखमार्फत सम्बन्धित मन्त्रालय र पुरातत्व विगागको गम्भीर ध्यानार्षण गराउँदछु,' उहाँको भनाइ थियो ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोटको प्राचीन, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, गारद घर, रंगमहल, सेतोपाटी, लामपाटी, तुलजा भवानी मन्दिर, नारायण मन्दिर, विष्णु मन्दिरहरु पुनर्निमाण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु गरेको छैन । नुवाकोट र नेपालकै महत्वपूर्ण पर्यटन गन्तव्यको रुपमा रहेको नुवाकोट दरबार टेकोको भरमा मुस्किलले अडिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०, १५:५५:००