काठमाडौं । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो । नेपाल समूह चरणमा अपराजित रह्यो ।
जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।
आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५÷१५ रन जोड्नु भयो भने अमिर फरिकले १४ रन बनाउँनुभयो ।
कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिनुभयो भने सोमपाल कामीले तीन विकेट लिनुभयो । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो
। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिनुभयो । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११÷११ रन बनाउँनुभयो । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट र गयान मुनवाराले दुई विकेट लिनुभयो । ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०, २०:२५:००