काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय कार्यालय खरिदका लागि दक्षिण कोरियाबाट ३ लाख ८७ हजार सहयोग प्राप्त भएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका तर्फबाट सचिव बुद्धिबहादुर तामाङले शनिबार एक कार्यक्रमबीच एकमुस्ट नेपाली रुपैयाँ ३ लाख ८७ हजार ८००/- (तीन लाख सतासी हजार आठ सय रुपैयाँ) रकम घेदुङको भवन खरिद कोषमा जम्मा गर्ने गरी सघीय अध्यक्ष मोहन गोले तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा संघीय घेदुङको उपमहासचिव जगत दोङ तामाङ, सचिव सरोज मोहन लामा र कोषाध्यक्ष रुपबहादुर योन्जनको पनि उपस्थिति रहेको थियो । त्यस्तै गरी दक्षिण कोरिया घेदुङको सल्लाहकारद्वय चित्र मोक्तान र राजीव घिसिङ, दक्षिण कोरिया तामाङ पत्रकार संघको अध्यक्ष अमिर योन्जनलगायत कलाकार प्रकाश तितुङ तामाङ, निशा पाख्रिन, सन्देश तामाङको उपस्थिति रहेको थियो ।
यस्तो सराहनीय कार्यमा अग्रसरता देखाई सहयोग गर्नुभएकोमा उहाँहरु सबैलाई नेपाल तामाङ घेदुङ आभार, कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०, १३:२४:००