काठमाडौँ । दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
गत शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । उहाँले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेर विश्व कीर्तिमान कायम गर्नुभयो ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाउनुभएको थियो । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।
बुढामगर रोल्पाको मिरुल गाउँमा सन् १९७९ मा जन्मिनुभएको हो । पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको थियो । पर्वतारोहणसम्बन्धी नियमावली– २०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो ।
नेपालको संविधानको धारा १८ को उपधारा २ मा अपांगता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्थाअनुरूप अदालतले मार्गप्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको थियो । उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०, १०:५३:००