घलेभन्ज्याङ । प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही जेठ २७ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ लाकुरीभन्ज्याङमा आउनुहुने भएको छ ।
पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिनुभयो । प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लाग्नुभएको हो । उहाँ यसअघि पनि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनका लागि पञ्चकन्यामा आउनुभएको थियो ।
'पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू पञ्चकन्या आउनुहुने भएको छ,' सांसद तामाङले ग्लोबल मिडियालाई भन्नुभयो,'उहाँ पञ्चकन्या आउनुहुनेभएकोले तयारीसमेत अघि बढेको छ ।'
समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद बिमला सुवेदीलगायत जिल्लाका जनप्रतिनिधिहरु, विभिन्न दलका नेताहरु र स्थानीयको सहभागिता रहने जनाइएको छ ।
पञ्चकन्या गाउँपालिकाका इन्जिनियर उज्ज्वल न्यौपानेले पनि प्रधानमन्त्री प्रचण्डबाट प्रशासकीय भवन उद्घाटन कार्यक्रम तय भएको जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त प्रशासकीय भवन २०७७ पुस २० गत ब्राम्हण पुरोहित र लामागुरुबाट संयुक्तरुपमा पूजापाठ गरी शिलान्यास गरिएको थियो । उहाँका अनुसार नवनिर्मित भवनमा बैठक कक्षसहित २७ वटा कोठा छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०, १४:३७:००