काठमाडौं । सिन्धुलीमा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका संगीता डिम्दोङलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ ।
प्रेस सेन्टरको वार्षिक साधारणसभा एवम् २१औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार डिम्दोङ 'वाग्मती प्रदेशको उत्कृष्ट क्रियाशील पत्रकार'को रूपमा सम्मानित हुनुभएको हो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महराले पत्रकार डिम्दोङलाई सम्मानपत्र र नगद प्रदान गर्नुभएको हो ।
'प्रेस सेन्टर नेपालको नीति, विधि र विधानलाई आत्मसात गरी संगठनको विरासत एवम् गरिमालाई उच्च राख्दै जनपक्षीय पत्रकारिता र समाज रूपान्तरणको अभियानमा तपाईंले खेल्नुभएको भूमिकाको हामी उच्च प्रशंसा गर्दछौं,' सम्मानपत्रमा भनिएको छ, 'तपाईंको उत्कृष्ट पेशागत दक्षता, मर्यादा र इमानदारीताको कदर गर्दै संगठनको १५ औं वार्षिक साधारण सभा एवम् २१औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवसको यस अवसरमा बागमती प्रदेशको उत्कृष्ट क्रियाशील पत्रकारको रूपमा यो सम्मानपत्र प्रदान गरिएको छ ।'
यस्तै कोशी प्रदेशबाट अर्जुन आचार्य, मधेसबाट आशीष विक, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णाली पङखबहादुर शाही र सुदूरपश्चिम तेजराज भट्ट सम्मानित हुनुभएको छ ।
उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठान प्रदेश नरेश ज्ञवाली, एशोसियट प्रदेश विजय आवाज सुवेदी सम्मानित हुनुभयो ।
यस्तै ५० हजार राशिको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई दिइएको छ । ३० हजार राशिको शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई (मरोणपरान्त) र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिलमाया शाहीलाई दिइएको प्रेस सेन्टर नेपालले जनाएको छ । भण्डारी प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष, प्रेस काउन्सिल नेपालको पूर्वसदस्य हुनुहुन्छ ।
मरोणपरान्त पुरस्कार प्राप्त गर्ने पौडेल प्रेस सेन्टर नेपालको उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहनुभएको थियो । यस्तै पुरस्कृत हुनुभएका शाही विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति सुनसरी, जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला समन्वय समिति बाँकेलाई उत्कृष्टको सम्मान दिइएको छ ।
कार्यक्रममा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । जसमा लोकप्रसाद बन्जारा अक्कल भिमसेन थापा गाउँपालिका गोरखाका प्रमुख, प्रभा बोगटी विदुर नगरपालिका नुवाकोटको उपप्रमुख, कमला रोक्का सानेभरी गाउँपालिका रुकुम पश्चिमको उपाध्यक्ष
र महाविर राना गौमुखी गाउँपालिका प्यूठानको उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।