नुवाकोट । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने महत्वपूर्ण मार्ग सामाखुसी टोखा-गुज्रे-छहरे सडकको दुरी २९ किलोमिटर छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै ६ वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गर्थ्यो । तर बर्खायाममा नागरिकले कष्ट पाउँथे ।
नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपर्थ्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।
करिब ६ वर्षअघिसम्म दुरावस्था रहेको उक्त सडक खण्डमा आमूल परिवर्तन आएको छ । नयाँ जनप्रतिनिधिको पहल र सरोकारवालाको दबाबका कारण सामाखुसी–टोखा–गुज्रे सडकको काँचुली फेरिएको हो । काठमाडौंतर्फ टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र नुवाकोटतर्फ शिवपुरी गाउँपालिका तथा लिखु गाउँपालिकासीमा जोडिन पुग्ने यो सडकमा अहिले एकाध ठाउँबाहेक पूरै कालोपत्र भएको छ । जसमा आवश्यक ठाउँमा पक्की ढलfनको सडक र अन्य ठाउँमा कालोपत्र विछ्याइएको छ ।
सडक आपसापमा हरियाली र पछिल्लो चरणमा पिच गरिएको ठाउँमा मार्किङ गरिएको दृश्यले मनमोहक बनाउँछ नै जोकोहीलाई । यो सडकको मुहार फेरिए पनि मर्मतसम्भारको काम भने अझै जारी छ । तर, यातायातका साधन सञ्चालनमा भने कतै रोकटोक छैन । गत वर्ष पिच गरिएका गुरुङ गाउँ क्षेत्रमागुणस्तरहीन भएकोले फेरि त्यहीमाथि कालोपत्र गरिँदैछ ।
नुवाकोट क्षेत्र नम्बर १ बाट लगातार दुई पटक निर्वाचित सांसद हितबहादुर तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भिउ रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेशबाट बजेट छुट्याउन सफल हुनुभयो । प्राप्त जानकारी अनुसार ६ वर्षको अवधिमा पटक-पटक गरी यो सडक खण्डलाई संघीयस्तरबाट ४२ करोड बजेट परिसकेको छ । प्रत्यक्ष निर्वाचित संघीय सांसद हितबहादुरको सिफारिसमा ०७८ सालमा १० करोड, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा अर्थमन्त्री हुँदा ०७९ सालको बजेटबाट १० करोड, ०७६ सालको बजेटमा ५ करोड, ०७७ को बजेटमा ३ करोड, ०७८ सालमै नियमित बजेटमा ७ करोड बजेट परेको तथ्यांक उपलब्ध छ ।
०७६ मा वाग्मती प्रदेशको बजेटबाट पनि गुर्जे चौकी आसपासको ढलानलाई १ करोड रकम विनियोजन गरी काम गरिएको थियो ।
हालैको संघ र प्रदेशको निर्वाचनलगत्तै भौतिक पूर्वाधार मन्त्रालयमा पेस गरेको योजनाअनुसार ६ करोड ६१ लाख रुपैयाँ बजेट परेको छ । माओवादी केन्द्रका नेता जित्नुअघि उक्त सडकलाई हरेक आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँको दर रकम पर्ने गरेको थियो ।
सासद तामाङ, वाग्मती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरुकै पहलमा गुर्जे-छहरे सडकको अवस्था एकाएक परिवर्तन आएको स्थानीय बताउँछन् । सांसद हितबहादुर तामाङको पालामा सडक पक्की र कालोपत्र बनेपछि गुर्जे-छहरे सडकलाई 'हितबहादुरको सडक' भन्दै प्रचार गरिएको पाइन्छ ।
उक्त सडक राम्रो बन्दै गएको छ भने अर्कोतर्फ बहुप्रतिक्षीत छहरे-टोखा सुरुङमार्ग निर्माणका निम्ति आउँदो आर्थिक वर्षका लागि १ अर्ब बजेट छुट्याइएको छ । त्यस्तै नुवाकोट प्रवेशको पुरानो सडक बालाजु-ककनी-त्रिशूली सडकलाई समेत नयाँ बजेटमा ५० करोड विनियोजन गरिएको छ ।