नुवाकोट । अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गरेरमात्र विकास र समृद्धि आउने बताउनुभएको छ । सोमबार नुवाकोटको ककनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनताको ठूलो बलिदानले निर्माण गरेको संविधान र परिवर्तनका उपब्धिहरुको रक्षा गर्नु अहिलेको मुख्य काम रहेको बताउनु भएको हो ।
एमाले प्रति इंगित गर्दै मन्त्री शर्माले प्रतिगामीहरु कम्युनिष्टको खोल ओडेर परिवर्तनका उपलब्धीहरु समाप्त पार्न लागेको भन्दै त्यसबाट संविधान र प्राप्त उपलब्धीको रक्षा गर्न आम जनसमुदायलाई तयार रहन आग्रह गर्नुभयो । माओवादी पार्टी र अध्यक्ष प्रचण्डले ठूलो साहस गरेर जनयुद्ध गरेकै कारणले आज संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितको परिवर्तन संभव भएको भन्दै उहाँले यसलाई नरुचाउने शक्तिहरुबाट महिला जनजाती, दलित र उत्पीडित वर्गको अधिकारमाथि प्रहार भईरहेकोले सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सम्बोधनको क्रममा मन्त्री शर्माले स्थानीय सरकारहरुलाई जनउत्तरदायी बनाउँदै संघीयताको कार्यन्वयनमा जोड दिनु पर्ने बताउनुभयो । स्थानीय सरकारलाई थप अधिकार र श्रोतसाधन सम्पन्न गरेर बलियो बनाउनुपर्ने उहाँले भन्नुभयो ।
आफू अर्थमन्त्री भए पछि नयाँ बजेट ल्याएको भन्ने भ्रम परेको भन्दै मन्त्री शर्माले आफूले प्रतिस्थापन विद्येयकको विधिमात्र पुर्याएर दुई प्रतिशत बजेट मात्र थप गरेको बताउनुभयो । त्यसमा पनि नुवाकोट नछुट्याएको बताउँदै उहाँले गाउँपालिका र नुवाकोटका नेताहरुले माग गरे बमोजिम ककनीको विकासका लागि परिणाम आउने गरी काम गर्ने आश्वसन दिनुभयो ।
बालाजु ककनी सडकलाई अव तोकिएको समयभित्र सम्पन्न गरिसक्न सम्बन्धित मन्त्रालयका प्रतिनिधी र निर्माण कम्पनीसंग कुरा गरिसकेको मन्त्री शर्माले बताउनुभयो । उहाँले ककनीको गुठी जग्गाको समस्या हल गर्न भूमिसुधार मन्त्री शसी श्रेष्ठसंग कुरा गरेर पहल गरिने भन्नुभयो ।
अर्थमन्त्री शर्मा समक्ष नुवाकोटका जनप्रतिनिधिको माग नै माग
कार्यक्रमको शिलशीलामा नुवाकोटका जनप्रतिनिधिहरुले अर्थमन्त्री शर्मा समक्ष विभिन्न विकास आयोजनाका बारेमा ध्यानकर्षण तथा माग राख्नुभएको थियो । ककनीको पर्यटन विकासका लागि गुठी जग्गाको समस्या, बाटो र शसस्त्र प्रहरी बलको तालिम केन्द्र बाधक रहेको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभएको थियो । वडा अध्यक्ष रामबहादुर लामाले वडाको मुख्य सडकका रुपमा ककनीको काउलेथना, भोटथानसिङ महेन्द्रमावि फोकटेखोला हुँदै मध्येपहाडी लोकमार्ग छहरे जोड्ने सडकका लागि मन्त्रीको ध्यानकर्षण गराउनुभयो ।
प्रदेश सांसद् हिरानाथ खतिवडाले समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा लगी रणनीतिक महत्वका सडक आयोजनाहरु छिटो सम्पन्न गराउन मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो ।
यसै गरी उपसभामुख राधिका तामाङले रणनैतिक महत्वको टोखा–छहरे सुरुङमार्ग अर्थमन्त्री शर्माकै कार्यकालमा शिल्यान्यास गरी निर्माण प्रारम्भ गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले नुवाकोटको दक्षिणी क्षेत्रलाई राजधानीसंग जोड्ने तिनपिप्ले, कुमरी र कोल्फुटार सडक आयोजना सरकारको योजनाबाट हराएको भन्दै त्यस सडक आयोजनालाई निरन्तरता दिन मन्त्री शर्मालाई आग्रह गर्नुभयो ।
माओावदीले जस् लिन्छ भनेर बालाजु-ककनी सडक बनाउन एमालेको मन्त्रीले नै चाहेन –सांसद् तामाङ
संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले ककनीमा नेपालकै ठूलो सम्मेलन हलसहितको 'एक्स्पो सेन्टर' निर्माण गर्ने योजना बनेको स्मरण गराउँदै त्यसको कार्यन्वयनका लागि मन्त्री शर्माको ध्यानाकर्षण गराउनु भएको थियो । सांसद् तामाङले बालाजु ककनी–सडक र रानीपौवा, लामागाउँ, चतुराले, ढाँडेफेदी, गंगटे त्रिशुली जोड्ने छोटो दुरीको सडक लगायत रणनीतिक महत्वको सडकहरुका बारे पनि ध्यानकर्षण गराउँदै, तिनपिप्ले, ओखरपौवा, कुमरी र कोल्फुटार जोड्ने सडकलाई संघ सरकारमा फिर्ता गरी निर्माण कार्य अगाडि बढाउन माग गर्नुभयो ।
माओवादी नेता कार्यकर्ताहरुको लस्करसहित ककनी पुग्नुभएका अर्थमन्त्री शर्माले ककनी गाउँपालिकाको भोटथानसिङ स्थित पाँच नम्बर वडाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाको आन्तरिक श्रोतबाट ७० लाखमा निर्माण सम्पन्न भएको उक्त वडा कार्यालय भवन गाउँपालिकाकै पहिलो रहेको वडा अध्यक्ष रामबहादुर लामाले बताउनुभयो । दुई तला गरी नौ कोठा रहेको उक्त भवनमा वडाका सम्पूर्ण प्रशासनिक कार्यहरुका अतिरिक्त सभा सम्मेलनहरु र अन्य सामाजिक कार्यहरु पनि गर्न सकिने अध्यक्ष लामाले बताउनुभयो । यसका लागि संगै जोडिएको चौरमा कार्यक्रम गर्न मिल्ने गरी भवनको भुईँतलाको दुई कोठालाई खुल्ला राखी मञ्चको व्यवस्था गरिएको छ ।
टोखा-छहरे सुरुङ मार्गलाई आफ्नै कार्यकालमा निर्माण प्रारम्भ गर्न उपसभामुख तामाङद्वारा अर्थमन्त्री शर्माको ध्यानाकर्षण