सिन्धुली । नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान चयन हुनुभएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको नवौं अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा सरस्वती लामा र फुर्वा लामा, सचिवमा रामबहादुर थिङ, सहसचिवमा विज्ञान दोर्जे बल, कोषाध्यक्षमा बाबुलाल ब्लोन चयन हुनुभएको छ ।
सदस्यहरुमा देबबहादुर गोले, शुभद्रा घलान, बिभलमान मोक्तान, सुनमाया तामाङ, बिमला तामाङ, रुपेश मोक्तान, मेघबहादुर तामाङ, धनबहादुर स्याङ्तान र बिष्णु स्याङतानलगायतको रहनुभएको आयोजकले जनाएको छ । बाँकी सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
शनिबारबाट सिन्धुलीमाढी तामाङ घेदुङका संघीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो । संघीय वरिष्ठ उपाध्यक्ष ब्लोनले तामाङको अभियानलाई बस्ती, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । तामाङको अधिकार र पहिचान सुनिश्चितताको लागि पराम्परागत ज्ञान, सिपको प्रवर्द्धन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य सुशीला थिङले तामाङले आफ्नो पहिचान भुलेर बाहिरी संस्कार अंगाल्दा पटक-पटक अन्य जातिले तामाङ जातिहरुमाथि धावा बोलेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सुकुमाया तामाङ, प्रदेश सांसद छेत्रबहादुर बम्जन, घेदुङका केन्द्रीय उपमहासचिव हर्कमान तामाङ, जिल्ला समन्वय समिति सिन्धुली संयोजक कार्साङ लामालगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानको अध्यक्षतामा भएको थियो ।