घलेभन्ज्याङ (नुवाकोट)। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका नवनिर्वाचित सचिव अर्जुन थापा (बगाले) गृहगाउँमा सम्मानित हुनुभएको छ ।
नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घलेगाउँमा सञ्चालित जनकल्याण सामुदायिक पाठशालाले शुक्रबार १ मंसिर २०८० का दिन विद्यालय प्रांगणमा एक समारोहबीच सचिव थापालाई सम्मान गरेको हो । कार्यक्रममा सचिव थापालाई प्रमुख अतिथि एवं पूर्वशिक्षक वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुली, विद्यालयका प्रमुख गुठियार टीकाराम तामाङ, प्रधानाध्यापक डीबी क्षत्रीले माला र सम्मानपत्र प्रदान गर्नुभयो ।
२०६७ सालदेखि सार्वजनिक विद्यालयको रुपमा सञ्चालित जनकल्याण सामुदायिक पाठशालाको संस्थापकमध्ये एक हुनुहुन्छ सचिव थापा । पञ्चकन्या-३ बाट विदेशिने क्रममा उहाँले पछिल्लो एक दशकदेखि जापानमा रहेर पाठशालाको प्राण बचाउन विभिन्न संस्था र व्यक्तिगत रुपमा निरन्तर सहयोग पुर्याउँदै आएको भन्दै संस्थाले नेपाल आइपुगेको बेला सम्मान गरेको जनाएको छ । सम्मानित सचिव थापालाई प्रमुख अतिथि, विद्यालय सञ्चालक र प्रधानाध्यापकले बधाई तथा शुभकामना दिनुभएको थियो ।
सचिव थापाले आफूलाई सम्मान प्रदान गरेकोमा विद्यालय परिवारप्रति आभार प्रकट गर्नुभयो । उहाँले गाउँमा शैक्षिक क्षेत्रमा केही गरौं भन्ने हुटहुटीले विद्यालय सञ्चालन गराउन सक्षम भएको उल्लेख गर्नुहुँदै आफ्नो तर्फबाट आगामी दिनमा पनि विद्यालय र गाउँमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सहयोग जारी रहने वचनबद्धता गर्नुभयो ।
एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापा गत जुलाई ३० तारिखमा भएको एनआरएनए जापानको चुनावबाट सचिव पदमा निर्वाचित हुनुभएको हो । विगत १० वर्षदेखि जापानमा बसोबास गर्दै आइरहनुभएका थापाले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपाल फेस्टिवल फुकुओकाको सचिव, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक बन्नुभएको थियो । विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आउनुभएका थापा सरल, सहयोगी, सक्षम र इमान्दार छवि बनाउनुभएको छ ।
उहाँ पञ्चकन्या जनकल्याण युवा समाजको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । २०७२ को महाभूकम्प होस् या प्राकृतिक र अन्य खालका समस्यामा परेका नेपालीहरुलाई संस्थागत र व्यक्तिगतरुपमा पनि आर्थिक, भौतिक, नैतिक तबरबाट निरन्तर सहयोग गर्दै आइरहनुभएको छ । नेपालमै स्नातकोत्तर तह पूरा गर्नुभएका थापा परिवारका काइँला सन्तान हुनुहुन्छ ।