नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नुवाकोटले मातृभाषा शिक्षा लागू गर्न माग गर्दै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपालको नयाँ संविधानले व्यवस्था गरेको बहुभाषिक नीतिअनुरुप चालू आर्थिक वर्ष २०८०/८१ देखि नै मातृभाषा शिक्षा लागू गर्न माग गर्दै तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला समन्वय समिति नुवाकोटले बेलकोटगढी नगरपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायतका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।
तादीका अध्यक्ष सन्तमान तामाङ जिल्ला बाहिर रहनुभएकाले उपाध्यक्ष सञ्जु प्याकुरेलले ज्ञापनपत्र ग्रहण गर्नुभएको थियो ।
'संवैधानिक व्यवस्थाअनुसार निर्धारण गरिएको राज्यको दायित्व र नागरिकको अधिकारको रक्षा र प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो । त्यस अनुसार नेपालको संविधानको भाग ३ को धारा ३१ उपधारा (५), धारा-३२ को उपधारा (१३) भाग-४ धारा ५१ (ग) को (७) को व्यवस्था अनुसार मातृभाषा शिक्षा लागू गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न एवम् प्रथाजन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यही चालू आर्थिक वर्ष २०८० ८१ देखिनै लागू गर्ने गरी पहल गर्नुहुन प्रमुख अध्यक्षज्युसमक्ष तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले यो ज्ञापनपत्र पेस गरेको व्यहोरा अनुरोध छ,' ज्ञापनपत्रमा लेखिएको छ ।
यसैबीच, विभिन्न पालिकालाई ज्ञापनपत्र बुझाएपछि बेलकोटगढी नगरपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिकाको भेला आयोजना गरिएको थियो । भेलाले तादीमा हिरो श्याम तामाङको अध्यक्षतामा २९ सदस्यीय
तामाङ राष्ट्रिय मुक्ति मोर्चा गाउँ समिति निर्माण गरेको छ । यस्तै बेलकोटगढीमा भिमबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय नगरपालिकास्तरीय समिति निर्माण गरिएको छ भने लिखुमा श्यामबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय गाउँ समिति गठन गरेको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नुवाकोटले जनाएको छ ।
![](https://www.globlemedia.com/uploads/editor/2023-11-30/161743845received_7040843042664167.jpeg)
तादीको भेला संघीय सांसद हितबहादुर तामाङ र बेलकोटनगरको भेला वाग्मती प्रदेश सांसद राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।