पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ६ जना प्रदेशसभा सदस्यलाई शुक्रबार मन्त्री नियुक्त गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट रामजी बराल, दीपक थापा र चन्द्रबहादुर बुढा रहनुभएको छ । बरालले अर्थ, थापाले वन, वातावरण तथा भूसंरक्षण र बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
यसअघि मुख्यमन्त्री नेपालीले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
जसपा असन्तुष्ट
गण्डकीमा आफूहरुसँग गरिएको सहमति तोडेको भन्दै मुख्यमन्त्रीसँग जनता समाजवादी पार्टी रुष्ट बनेको छ । सुरुमा सत्ता गठबन्धनका लागि मुख्यमन्त्र नेपालीले जसपाबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गर्नुभएको थियो । तर शुक्रबार कांग्रेस र माओवादीबाट मात्र मन्त्रिपरिषद् विस्तार गरेपछि असन्तुष्ट जसपाको मन्त्री हरिशरण आचार्य शपथग्रहण समारोहमा उपस्थित हुनुभएन । जसपाले कांग्रेसमाथि बेइमानीको आरोप लगाएको छ ।