घ्याङफेदी । नुवाकोटको घ्याङफेदी आर्थिक, राजनीतिक, शैक्षिक दृष्टिले पिछडिएको गाउँ हो । भौगोलिक रुपमा निकै दुर्गम उक्त बस्ती गरिबी र अभावबाट गुज्रिन विवश छ । यहाँका नागरिक राजनीतिक रुपमा सचेत नभए तापनि विगत वर्षहरुमा घ्याङफेदी नेपाली कांग्रेसको 'भोट बैंक' जस्तै थियो ।
गएको स्थानीय तहको निर्वाचनमा पनि त्यस वडामा कांग्रेसले जितेको थियो । तर प्रदेश र संघको निर्वाचनमा भने कांग्रेसका उम्मेदवारलाई भन्दा तत्कालीन वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवारले केही मत बढी प्राप्त गरेको थियो । भित्री रुपमा कम्युनिष्टलाई भोट दिनेहरु पनि खुलेर कांग्रेसइतरका पार्टीमा लाग्ने अवस्था थिएन । तर पछिल्लो अवस्थामा माओवादीबाट संघमा हितबहादुर तामाङ र प्रदेशमा राधिका तामाङ निर्वाचित भएर गएपछि घ्याङफेदीमा माओवादीको प्रभाव निकै बढेको स्थानीय माओवादी कार्यकर्ता बताउँछन् । ती कार्यकर्ताका अनुसार तामाङद्वय जितेपछि उहाँहरुको पहलमा घ्याङफेदीमा विकासका धेरै काम भएको भन्दै खुलेर माओवादीमा प्रवेश गर्ने लहर चलेको छ ।
यसै क्रममा शुक्रबार माओवादी केन्द्रको वडा सम्मेलनको अवसरमा कांग्रेस र नेकपा (एमाले) पार्टी परित्याग गरी १ सय २५ जना माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा एमालेबाट वडाध्यक्षका प्रतिस्पर्धी कर्मजीत तामाङदेखि अधिकांश कांग्रेसका क्रियाशील सदस्य रहेको माओवादीले जनाएको छ ।
कांग्रेसका क्रियाशील सदस्यहरु करचुङ तामाङ, जितबहादुर तामाङ, सन्चमान तामाङ, जयराम तामाङलगायत परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको छ भने एमालेबाट कर्मजीतसहित मिनबहादुर तामाङ, वडा सदस्यका प्रतिस्पर्धी सुकुमान तामाङलगायत रहनुभएको छ । पार्टी प्रवेश गर्ने सबैलाई संघीय सांसद् तथा पूर्वमन्त्री हितबहादुर तामाङले अबीर र खादा लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् तामाङले आफूले घ्याङफेदीवासीको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको कारणले आज घ्याङफेदीवासीको माया पाएको बताउनुभयो । उहाँले भन्नुभयो, 'विगतमा मलाई घ्याङफेदीवासीले भोट नदिँदा पनि मैले चित्त दुखाइनँ, हामीले माया गरेपछि तपाईंहरुले पनि माया गर्नु हुँदोरहेछ, हामीले आफन्त सम्झेपछि तपाईंहरुले पनि आफन्त सम्झिनु हुँदोरहेछ ।' उहाँले अबको दिनमा सबै एक ठाउँमा रहेर घ्याङफेदीको विकासमा लाग्नु पर्ने र आफू पनि लागिरहने आश्वासन दिनुभयो ।
एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएका कर्मजीत तामाङले घ्याङफेदीको विकास खेती किसानी गरेर नहुने भन्दै रेडपान्डाजस्ता दुर्लभ जन्तुको संरक्षण गरी पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । आफूले राखेको धारणमा माओवादी नेताहरु र सांसद्हरुले सकारात्मक रुपमा लिएको र पहल पनि गर्नुभएकोले आफू पनि सँगै बसेर काम गर्ने विचारले पार्टी प्रवेश गरेको उहाँको भनाइ थियो ।
त्यस्तै कांग्रेस छाडेर माओवादी प्रवेश गर्नुभएका जितबहादुर तामाङले माओवादीले मात्रै जनताको विकास गर्न सक्ने भएकोले आफूहरु सो पार्टीमा प्रवेश गरेको बताउनुभयो । उहाँले अब स्थानीय चुनावमा पालिका र वडामा पनि माओवादी केन्द्रलाई नै विजयी गराउनुपर्नेमा उहाँको जोड थियो ।
शुक्रबार सम्पन्न वडा सम्मेलनले माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ मा सिताराम तामाङको अध्यक्षतामा २९ सदसीय समिति चयन गरेको छ । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नेता लालबहादुर तामाङ, कमल खतिवडा, एलिशा थापा, गाउँपालिका अध्यक्ष शंकर थापालगायतको उपस्थिति रहेको थियो ।