घलेभञ्ज्याङ, नुवाकोट । नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँ संगठन कमिटीको अध्यक्षमा मणिनाथ लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।
संगठनको शनिबार घलेभञ्ज्याङ आयोजित दोस्रो सम्मेलनले लामिछानेको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको तीन उपाध्यक्षमा रामबाबु पराजुली, सन्चबहादुर तामाङ, वासुसिंह ठकुरी, सचिव छिरिङ दोर्जे तामाङ, सहसचिव कृष्णप्रसाद बोहोरा, कोषाध्यक्ष श्रीधर पराजुली छनोट भएको नवनिर्वाचित सदस्य रामहरि भण्डारीले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
पालिका सदस्यहरुमा लालबहादुर तामाङ, अनिल तामाङ, मानबहादुर तामाङ, बलबहादुर कार्की, कुमारी तामाङ, रामहरि भण्डारीलगायत रहनुभएको छ । ५ वटा वडा रहेको पञ्चकन्यामा पार्टी सदस्य संख्याको आधारमा वडाबाट पालिका सदस्य प्रतिनिधित्व गराइएको छ ।
मिनकुमार केसीको अध्यक्षता, वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य एवं नुवाकोट जिल्ला नेता श्रीकृष्ण अधिकारी 'विवेक'को प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा वाईसिएल वाग्मती प्रदेश संयोजक राजन गौतम 'नकुल', पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं माओवादी केन्द्र नुवाकोटका प्रभावशाली नेता तेजबहादुर तामाङ, वाग्मती प्रदेश कमिटी सल्लाहकार कृष्णबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी) नुवाकोट जिल्ला सचिवालय सदस्य अर्जुन कार्कीलगायत अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो ।
नयाँ कमिटी चयनका लागि रामबहादुर विष्टको संयोजकत्वमा निर्वाचन मण्डल बनाइएको थियो । जसमा मिनकुमार केसी, सुलोचना गजुरेल, हेमनारायण महतो सदस्य रहनुभएको थियो ।
कार्यक्रम सञ्चालन दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य रत्न सुनुवारले गर्नुभएको थियो । कार्यक्रममा वडा नं १ र ५ बाट पञ्चेबाजा र नारा जुलुससहित माओवादी नेता, कार्यकर्ता भेला भएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन जति माओवादी प्रवेश गरेको सदस्य भण्डारीले जानकारी दिनुभयो ।