काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहको बताउनुभयो ।
अध्यक्ष दाहालले महाभारत क्षेत्रका जनताको विकासको चाहना र आकांक्षलाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो । आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्माण गर्नका लागि रू ५० करोड विनियोजन भइसकेकामा त्यसलाई पूर्णता दिन पहल गरिने बताउनुभयो ।
उहाँले त्यही बेला पहल गरिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णता दिन आफ्नो प्रयास केन्द्रित रहने पनि बताउनुभयो । कोखाजोर खोलाको जलविद्युत् आयोजनाका लागि प्रक्रिया अगाडि बढिरहेकाले यसमा आवश्यक सहयोगका लागि र पिन्थलीदेखि घर्तीछाप हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकलाई राष्ट्रियरुपमा स्तरोन्नतिका लागि सम्बन्धित निकायमा कुरा गरेर अघि बढाइने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
पार्टी पुनःगठनको महाभियान चलाउने र पार्टीलाई नयाँ क्रान्तिकारी पार्टीमा रुपान्तरण गरेर छाड्ने अठोट गरिएकाले देशव्यापीरुपमा सदस्यता नवीकरणदेखि टोल भेला हुँदै वडा, पालिका तथा प्रदेश हुँदै राष्ट्रियस्तरको सम्मेलन गर्ने अभियानमा आफू जुटिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले महाभारतका जनताको मुहार फेर्नको लागि आफूहरु निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभययो । वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले माओवादी केन्द्रले गरेको विकास निर्माणको कामबाट अत्तालिएर डाँडापारिको मुहार फेर्ने काममा भएको सकारात्मकतालाई भ्रमपूर्ण प्रचार गर्दै हिँडेकोमा दुःख व्यक्त गर्नुभयो । हिजोको दिनमा विकट डाँडापारिका जनतालाई अहिले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको तर्फबाट गरिएको विकासकेन्द्रित योजनालाई पूरा गर्ने सवालमा कसैले भ्रम फैलाउँदैमा त्यसबाट पछि नहट्ने उहाँको भनाइ थियो ।
मौसमको खराबीका कारण त्यहाँ पुग्न नसकेपछि अध्यक्ष प्रचण्डले काठमाडौँबाटै फोनमार्फत सम्बोधन गर्नुभएको थियो । सम्मेलनबाट कान्छालाल जिम्बाको अध्यक्षतामा ५५ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ । जिम्बा सोही गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि (गाउँपालिका अध्यक्ष) पनि हुनुहुन्छ । ।