तस्विरः सामाजिक संजाल
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले स्वर्गीय कलाकारद्वय इन्दिरा गोले गुरुङ र जयनन्द लामाको प्रतिमूर्ति ( सालिक ) निर्माण गरिएको छ ।
कमलामाई नगरपालिका ३ चपौली सिन्धुलीमा रहेको राष्ट्रिय कला घरमा हाल प्रतिमूर्ति बनाउने कामलाई तिव्रता दिइएको छ । प्रतिमूर्तिको मंसिर १ गते विशेष समारोहबीच अनावरण गरिने जनाएको छ ।
कला क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लाग्दै आउँनु भएका कलाकार जयनन्द लामाको ०७८ फागुन १० र इन्दिरा गोले गुरुङको ०८२ भदौ १८ गते क्यान्सर रोगको कारणले निधन भएको थियो ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार कला घरको प्रस्ताव र आफू पनि तामाङ समुदायको भएको र स्व. दुई कलाकारले तामाङ संस्कार संस्कृतिमा महत्वपूर्ण योगदान दिनुभएको हुँदा प्रतिमूर्ति निर्माणमा सहकार्य गरेको बताउनुभयो ।
अध्यक्ष वाइबा भन्नुहुन्छ ‘तामाङ संस्कार–संस्कृतिमा मात्रै नभई ठेट लोकगीत, दोहोरी, तामाङ भाषा र सेलोगायक÷ गायिका हुनुहुन्छ, हामी भन्दा माथिल्लो तहबाट सम्मान मिल्नुपर्थ्यो तर सरकारले दिएन र हामीले उहाँहरूको सम्झना र सम्मान स्वरुप यो काम गरेका हौँ ।’
‘तामाङ भाषा, साहित्य, सस्कृतिको सम्मान हुने र पछिल्लो पुस्तालाई इतिहास होस भनेर प्रतिमूर्ति निर्माणमा लागेका हौँ ।’ अध्यक्ष वाइबाले भन्नुभयो ।
साथै उहाँले अन्य देशको कलाकारले जसरी सम्मान नेपालका कलाकारले नपाउने भएको भन्दै जयनन्द लामा र इन्दिरा गालेले अत्यन्त दुख गरेर नेपाली लोक सङ्गीतको क्षेत्रमा गरेको योगदान अतुलनीय भएको सम्झनुभयो ।
सम्मान स्वरुप नै प्रतिमूर्ति निमार्ण गरेर मंसिर १ गते अनावरण गरिने पालिकाले जनाएको छ । पालिकाले गतवर्ष र यो वर्ष गरी प्रतिमूर्ति निर्माणको लागि ९ लाख बजेट विनियोजन गरिएको छ ।
स्व. वरिष्ठ कलाकार जयनन्द लामा: पाँच दशकको योगदान
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको २०७८ फागुन १० गते ६६ वर्षको उमेरमा निधन भएको थियो ।लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल हुनुहुन्थ्यो । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आउँनु भएको थियो ।
साथै ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता निकै लोकप्रिय लोकगीत उहाँले गाउँनु भएको थियो ।
वरिष्ठ कलाकार लामाको चलचित्र यात्रा विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएको थियो । स्व.लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशन पनि गर्नुभएको थियो । स्व. लामाले एक सयभन्दा बढी चलचित्रमा अभियन गर्नुभएको थियो । दर्जनौँ टेलिचलचित्र, म्युजिक भिडियो, हाँस्य टेलिशृङ्खलामा पनि अभिनय गर्नुभएको थियो । विभिन्न विद्यालयमा सङ्गीत गुरुका रूपमा क्रियाशिल हुनुभएको थियो ।
स्व. वरिष्ठ गायिका इन्दिरा गोले, जसले पाँच हजार गीतमा आवाज दिए
वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको २०८२ भदौं १८ गते निधन भएको हो । उहाँको क्यान्सर रोगका कारण निधन भएको थियो । २०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँनुभयो । उहाँको स्वरमा चाँगुनारायण थान, ‘घुम्तीनीर लेट भयो’,जाइफूलको बासना, घर त छाउनीमा, ‘आज मलाई उनीको पछ्यौरी’, सफा ट्याम्पुरी र तामाङ भाषाका सम्पूर्ण गीत अहिले पनि गुन्जीरहन्छन् । काँठेसँगै तामाङ सेलो, लोकदोहोरी, देउडा भाषा, आधुनिकसहित थुप्रै गीत उनले गाएकी थिइन्। उनी २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा जन्मिनुभएको हो ।
स्व.इन्दिराले आफ्नो गायन करियरको सुरुवातमा रेडियो नेपालमा स्वर परीक्षा दिनुभएको थियो । उक्त परीक्षामा उत्तीर्ण भएपछि सुरु भएको उहाँको गायन यात्रा पाँच हजार गीतमा स्वर दिनुभयो । नेपाल तामाङ कलाकार संघको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभएको स्व. गोलेले तामाङ संस्कृतिको संरक्षण र सम्बद्र्धनमा संगीत क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।