घलेभञ्ज्याङ । नेकपा (माओवादी केन्द्र) नुवाकोटका प्रभावशाली नेता एवं पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्यामा माओवादीलाई हराएर नेतृत्व गर्छु भन्नु सपनामात्रै हुने बताउनुभएको छ ।
पञ्चकन्या गाउँ संगठन कमिटीको दोस्रो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष तामाङले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले कुनै दलले पञ्चकन्यामा जितौंला भन्ने नसोच्न चेतावनी दिनुभएको हो । 'आगामी निर्वाचनमा कोही कसैले पञ्चकन्यामा माओवादीलाई हराएर यो गाउँको नेतृत्व गर्छु भन्ने सपना देख्नु भा'छ भने त्यो केबल सपनामात्रै हो । अरु केही हुन सक्दैन,' अध्यक्ष तामाङले चेतावनी दिँदै भन्नुभयो, 'पञ्चकन्यामा नेतृत्वको सपना बोकेर मेरो पार्टी, मेरो कार्यकर्ता, मेरो जनतामाथि धावा बोल्छ भने खबरदार ! वाईसीएल जुर्मुराउन थालेको छ । चुप लागेर बस्दैन अब ।'
पञ्चकन्या माओवादीको पोल्टामा रहेको दाबी गर्दै उहाँले सम्मेलनमा भएको जनसहभागिताले पनि पुष्टि गरेको उल्लेख गर्नुभयो । 'चिन्ता नगर्नुस् । यो गाउँ हाम्रो गाउँ हो । हामीले नेतृत्व गरिराखेको हो । माओवादी पार्टीको गाउँ यो । दिनको कुरा बिहानीले दिन्छ भनेझैं देख्नु भएको छ, एउटा गाउँको सम्मेलनमा हजारौंको उपस्थिति । यही कुराले पनि पन्चकन्या कसको पोल्टामा छ भन्ने मैले बोल्नु पर्दैन । तस्बिर आफैं बोल्छ,' उहाँले भन्नुभयो । निकट भविष्यमै चुनाव हुने भएकोले तम्तयार भएर बस्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
आफूले झन्डै साढे ४ वर्षअघि नेतृत्वले आएदेखि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रमा उल्लेख कम गरेको भन्दै उहाँले जनताका घरघरमा गएर भोट माग्न कुनै आनाकानी गर्नु नपर्ने बताउनुभयो । पञ्चकन्यामा कुनै पनि हालतमा माओवादीले जित्ने पनि उहाँको भनाइ थियो, 'केही समयमा निर्वाचन पनि हुने भएकोले निर्वाचनमा होमिन पार्टीका नेता, कार्यकर्तालाई तम्तयार रहन निर्देशन दिन चाहन्छु । निर्वाचन हामी कुनै पनि हालतमा जित्छौं', उहाँले थप्नुभयो, 'मत माग्न सजिलो छ । साढे ४ बजे मैले राम्रो काम गरेको छु । कसैलाई अन्याय नगरी । निर्वाचित भएपछि साझा व्यक्तिको रुपमा काम गरेको छु ।'
अनौपचारिक रुपमा फेरि पालिका अध्यक्षमा नउठ्ने बताउँदै आउनुभएका अध्यक्ष तामाङले विपक्ष दलहरुको उम्मेदवार र निर्वाचनको माहोल हेरेर उम्मेदवारीबारे निर्णय लिइने बताउनुभयो । उहाँले आवश्यक परेमा 'कमब्याक' हुनसक्ने धारणा राख्नुभयो । 'विपक्षी धेरै सलबलायो भने पार्टीको एउटा जिम्मेवार कार्यकर्ता भएको कारणले मेरो युटर्न हुनसक्छ । कमब्याक हुनसक्छ । ख्याल ख्याल नसम्झे हुन्छ । मैले त हामीभित्रबाट कोही कसैले जित्ने अवस्था भयो भने छोड्ने हो । त्यस्तो अवसर जुटेन भने मै भिड्ने हो ।'